ताप्लेजुङः ताप्लेजुङको ओलाङचुङगोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग निर्माणमा तिब्बतियन निर्माण व्यवसायी समेत संलग्न हुने भएका छन् । आगामी असोजको पहिलो सातादेखि चीनको स्वशासित क्षेत्र तिब्बतका निर्माण व्यवसायी लोकमार्ग निर्माणमा संलग्न हुने भएका हुन् ।

लोकमार्ग निर्माण कार्य चाँडै सम्पन्न गर्ने उद्देश्यले दुवै तर्फबाट निर्माण अघि बढाउन तिब्बतका निर्माण व्यवसायीबीच गएको जेठमा सहमति भएको थियो । फक्ताङलुङ गाउँपालिकाको अगुवाईमा भएको छलफलमा ओलाङचुङगोलादेखि सदरमुकामतर्फको १५ किलोमिटरसम्म ट्रयाक खोल्न तिब्बतका निर्माण व्यवसायी सहमत भएका थिए ।

भदौदेखि नै काम शुरु गर्ने सहमति भए पनि आवश्यक प्रक्रिया मिलाउन केही ढिला भएकाले असोजदेखि शुरु हुने लोकमार्ग आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । उनका अनुसार सबै प्रक्रिया पूरा भएकाले हप्ता १० दिनभित्रै तिब्बतका निर्माण व्यवसायी ओलाङचुङगोलामा आउने र आफूहरूसमेत पुगेर निर्माण क्षेत्र देखाई निर्माण कार्य अघि बढ्ने छ ।

लोकमार्गको ट्रयाक खोल्न लेलेपको लुङथुङदेखि ओलाङचुङगोलासम्म झण्डै २२ किलोमिटर बाँकी छ । लोकमार्ग निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभी निर्माण कम्पनीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लुङथुङसम्म ट्रयाक खोलिसकेको छ । यस अघि वर्षातका कारण काम रोकिए पनि पुनः सोमबारदेखि काम शुरु भएको सोही निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए । उनका अनुसार दुवै तर्फबाट काम अघि बढे आगामी वर्षको असोज सम्ममा ताप्लेजुङ सदरमुकाम सडक सञ्जालले तिब्बतसँग जोडिने छ ।

टिपताला, ओलाङचुङगोला बस्तीसम्मको करीब २१ किलोमिटर सडकको ट्रयाक यसअघि खुलिसकेको छ । सो ट्रयाकसमेत तिब्बतका निर्माण व्यवसायीको संलग्नतामा खुलेको हो । स्थानीय स्तरमा बनेको उपभोक्ता समितिले तिब्बतका निर्माण व्यवसायीलाई ट्रयाक खोल्ने जिम्मा दिएको थियो । यस्तै, टिपतालादेखि तिब्बतको रिउ बजारसम्म करीब ८ किलोमिटर सडक तिब्बतले निर्माण गरेको छ ।