फाइल तस्बिर

विराटनगरः लामो समयदेखि अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रशारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल शुरु गरेका छन् ।

मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमाअ समस्या समाधानबारे सरोकारवालासँग छलफल गरेका हुन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिकाका अध्यक्ष, उद्योगी, व्यवसायीलगायतसँग छलफल गरेका थिए । हाल ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रशारण लाइनमा अवरोध छ ।

छलफलमा प्रशारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताएका थिए । ‘यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु,’ मुख्यमन्त्री राईले भने, ‘समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।’ विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे ।

मुख्यमन्त्री राईले प्रशारण लाइनको समस्या अन्त्यका लागि एक÷दुई हप्तामै पुनः सरोकारवाला निकायको बैठक बोलाउने बताए । यसका लागि प्राविधिकसहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारिक रूपमा लिने उनको भनाइ थियो ।

‘अब यहाँको समस्या अन्त्य हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुँदैन, यसका लागि विद्युत प्राधिकरणले ध्यान देओस् ।’ गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगी व्यवसायीले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन् ।