इटहरीः नेपाल र भारतबीच भएको कोशी सम्झौता तत्काल कार्यान्वयन नभए कोशी पीडितहरूले ‘आत्मदाह’ गर्ने चेतावनी दिएका छन् ।

सुनसरी, सप्तरी र उदयपुरका पीडितहरुले कोशी ब्यारेजमा २० दिनदेखि जारी राखेको रिले अनसनका क्रममा आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

कोशी नदी कटान डुबान पीडित सङ्घर्ष समितिका अनुसार कोशीको कटानले गरेको क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका स्थानीय आन्दोलनरत छन् ।

अनसन बसेका सप्तरीका पीडित विजयकुमार यादवले चतरादेखि सप्तरीको कुनौली बोर्डरसम्मको भूभागका लाखौँ किसानले खेतीयोग्य जमिन र घर गुमाउँदासमेत सरकारले क्षतिपूर्ति र जमिनको मुआब्जा दिने विषयमा चासो नदेखाएको बताए । मुआब्जाको नाममा गैरपीडितले मात्र आफ्नो गोजी भरेको उनले बताए ।

‘हामीले परिवार, घर र जमिन गुमाएका छाँै । यो पिडा हामी विगत ६५ वर्षदेखि भोगिरहेका छौँ’, यादवले भने, ‘अब पनि यो आन्दोलनप्रति सरकार गम्भीर हुँदैन भने हामी आत्मदाह गर्छाँै ।’

उनले थपे ‘यो हाम्रो चेतावनीलाई सरकारले ‘मजाक’ नसम्झियोस् । रिले अनसनपछि आमरण अनसनमा जान्छौ, त्यति हँुदा पनि हाम्रो माग सम्बोधन नभए हामी आत्मदाह गर्न बाध्य हुनेछौँ ।’

यस्तै सङ्घर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले यो ‘निर्णायक तह’ को आन्दोलन भएको बताए । भारत सरकारले कोशी सम्झौता अनुसार प्रत्येक वर्ष कोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपूर्ति नदिएर अन्याय गरेकाले सम्झौता कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले रिले अनशन थालिएको चौधरीले बताए ।

तत्कालीन राजा महेन्द्र र भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले संयुक्त रूपमा हस्ताक्षर गरी कोशी सम्झौता गरेका थिए । सप्तकोशीमा ब्यारेज बनेपछि कोशीको बाढीले घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता भएको थियो ।

सङ्घर्ष समितिले जग्गामा भएको बालीको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने, जग्गाको सुरक्षा र कोशी सम्झौताको कार्यान्वयन गर्नुपर्ने ३ बँुदे माग राखेर आन्दोलन गरिरहेको छ ।