इटहरीः नेपाली फिल्म उद्योगमा समाजमा रहेका यथार्थ विषयलाई टप्पक टिपेर फिल्ममार्फत् दर्शकसामु जस्ताको तस्तै पस्कन माहिर सफल निर्देशक नवल नेपालले मारुनीमार्फत् फिल्मी उद्योगमा फेरि एकपटक बाजी मारेका छन् ।

चलनचल्तीका फिल्म निर्देशक (मेकर) भन्दा चुनौतीपूर्ण विषयवस्तुमै फिल्म बनाउन रमाउने निर्देशक नवलले ठूलो चुनौती मोलेरै मारुनी मार्फत् दर्शक, समीक्षक, फिल्मकर्मी र सञ्चाकर्मीबाट यतिबेला राम्रो प्रशंसा बटुलिरहेका छन् ।

हिन्दी फिल्म साहोको चेपुवामा परेको मारुनीले दोस्रो सातामा यतिबेला देशभरका फिल्म हलमा प्रदर्शनको राम्रो समयतालिका पाइरहेको छ । अघिल्लो साता तँछाडमछाड गरी ‘साहो’ फिल्म हेरेका दर्शकले तीज पर्वदेखि यता मारुनी फिल्मलाई निरन्तर माया गरिरहेका छन् । यसअघि हिट हिन्दी फिल्म रिलिज भएकै समयमा रिलिज हुने नेपाली फिल्म नचलेर निर्माता नोक्सानमा गएका कैयन प्रमाण ताजै रहेको अवस्थामा साहो फिल्म हेरेका दर्शकले पुनः फिल्म हल गएर मारुनी फिल्म हेर्नु भनेको दर्शकको नेपाली फिल्म र नवलको फिल्म मेकिङप्रतिको मोह हो भन्दा फरक पर्दैन । उनले रोजेको नेपाली समाजको विषयवस्तु र त्यसलाई सुहाउने पात्रको सही छनोट नै हो ।

maruni  (2) 2
त्यति मात्रै होइन, समाजको यथार्थ घटना (कथा)लाई पटकथा र संवादमार्फत् फिल्ममा चरित्र निर्वाह गरेका कलाकारको अब्बल अभिनय पनि हो । चरित्र (कलाकार)लाई कथावस्तुअनुसार सही स्थानमा सही तरिकाले नवलले अभिनय गराउन सकेका कारण पनि फिल्म मारुनीलाई दर्शकले माया गरेका हुन् ।

एउटा हुने खाने परिवारमा फरक यौनिक क्षमता भएर जन्मिएको युवक (जसलाई हाम्रो देशले तेस्रो लिङ्गीको स्थान दिएको छ) र ऊसँगै सानैबाटै सँगै खेल्ने, पढ्ने र रमाउने अर्का युवकबीचको प्रेमबाट उब्जिएका घटनाक्रमलाई सरल तरिकाले नवलले फिल्म मारुनीमा प्ले गरेका छन् ।

यस्तो छ मारुनीको कथावस्तु
तेस्रो लिङ्गी भएर जन्मिनु आफैँमा अपराध होइन । मारुनी फिल्ममा राजको भूमिका निर्वाह गर्ने आयुष प्रधान र एसको भूमिका निर्वाह गर्ने पुष्प खड्का पुरुष हुन् । तर, राज जन्मिँदा पुरुष भएर जन्मिए पनि उनका हरेक स्वभाव भने महिलाको हुने गर्छ । स्कुल पढ्दा होस् या कलेज पढ्दा एस (पुष्प खड्का) प्रति ऊ आकर्षित हुन्छ ।

यौनिक इच्छाहरू पनि एसप्रति हुनुका साथै राजले एसलाई असाध्य मायासमेत गर्छ । उनीहरूसँगै कलेज पढ्ने मधु (रेविका गुरुङ)ले एसलाई मन पराएको र मधुसँगै हिँडेको बसेको बोलेको राजलाई पटक्कै मन पर्दैन । मधुको बर्थडे पार्टीमा राज र एससँगै सहभागी हुन्छन् । बर्थडे गिफ्टका रूपमा एसले मधुलाई ब्रासलेट दिन्छ । जुन ब्रासलेट राजले अति नै माया गरेर एसलाई दिएको हुन्छ । यो कुराले राजलाई ठूलो चोट पर्छ । र, सानै उमेरमा आमा गुमाएको राजले आफ्नो पापा (बुबा) अर्जुन श्रेष्ठसँग आग्रह गरेर विदेश गएर लिङ्ग परिर्वतन गर्छ । एसलाई बाँचुञ्जेल आफ्नो बनाउनकै लागि राजले यसखालको निर्णय लिएको हुन्छ ।

फिल्मकी अर्की दरिलि मुख्य पात्र सुमन (साम्राज्ञी राज्यलक्ष्मी शाह) ५ वर्षको अन्तरालमा विदेशबाट आफ्नो घर फर्किन्छिन् ।
सुमनको स्वदेश फिर्तीलगत्तै नोक्सान भएर टाट पल्टिन लागेको एसको कम्पनीमा ५० प्रतिशत शेयर हाल्ने पुगेकी सुमन प्रवेशसँगै उनको आइडियाले कम्पनी नाफामा जान्छ । कम्पनीको प्रगतिसँगै सुमनले एसले भन्दा बढी नै माया गर्न थाल्छ । यही बीचमा एसको विवाह भइसकेको सुमनले चाल पाउँछे । र, एसलाई विवाह गरेको कुरा नभनेकोमा आपत्ति जनाउँछे । कम्पनीमा आएकै दिन लाइफ होइन बिजनेस पार्टनरमात्र हुने कुरा गरेको तर्क गरेपछि सुमनको एकोहोरो र जिद्धी माया गराईबाट एस तनावमा पर्छ ।

maruni  (2) यसरी नै कथावस्तु अघि बढ्दै तीन पात्रहरू एस, सुमन र मधु बीचमा विवाद बढ्दै जान्छ । घटनाक्रमले नयाँनयाँ मोड लिँदै जान्छ । यतिसम्म कि एसले प्रहरीको सहयोगसम्म लिनुपर्ने बाध्यता आइपर्छ । प्रहरी कार्यालयसम्म आउनुपर्ने अवस्था सिर्जना गरेकोप्रति सुमनको पापा (बुबा)ले आपत्ति जनाउँदासम्म सुमनले एसबिना आफू एकछिन पनि बाँच्न नसक्ने बताउँछिन् ।

फिल्म मारुनीमा निर्देशक नवलले जुन कथावस्तु उठान गरेका छन् । यसले नेपाली फिल्म उद्योगमा नयाँ बहस र तरङ्ग पैदा गरेको छ । यसखालको कथावस्तु दर्शकले मन पराउलान् नपराउलान् भन्ने चुनौती ठूलै भए पनि चुनौतीपूर्ण काममै बढी रमाउने नवल मारुनी फिल्ममा पनि सफल भए । समाजका चुनौतीपूर्ण कथामा नेपाली फिल्म क्षेत्रका हस्ती (फिल्म मेकर)ले सम्म नसोचेको र हिम्मत गर्न नसकेको कथावस्तुमाथि बन्ने फिल्ममा लगानी गर्न आँट गर्नुले निर्मात्री पुनम गौतमको मुटु दरिलो भएकै मान्नुपर्छ ।

वर्षमा एउटा मात्र तर फरक कथावस्तु दर्शकमाझ फिल्ममार्फत् पस्किएर चुनौती मोल्न खप्पिस नवलले निर्देशन गरेका सफल फिल्मको लिष्टमा श्रीमान्, लज्जा, मंगलम्पछि मारुनी पनि थपिनेमा कुनै शङ्का नै छैन ।

शनिबार इटहरीको इलाइट सिनेमा हलमा दर्शकसँगै फिल्म हेरिरहेको अवस्थामा भेटिएका नवलले भने, ‘शुरुका दिनमा हिन्दी फिल्म साहोको मारमा परेको मारुनीले तीजसँगै पाएको दर्शकको मायाले म सधैँ दर्शकको ऋणी भएको छु । अबका दिन फिल्म बनाउँदा दर्शकले आफूमाथि र नेपाली फिल्ममाथि गरेको विश्वास र मायालाई म मर्न दिन्नँ ।’

अब पूर्व क्षेत्रका उत्कृष्ट सिनमा अझ गतिलो कथावस्तुमा नयाँ फिल्म बनाउने योजना बनिरहेको निर्देशक नवलले सुनाए । अबको फिल्म पनि अन्य झैँ सफल होऊन् हाम्रो पनि अग्रिम शुभकामना ।

maruni  (1)