बेलबारीः बेलबारी नगरपालिकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने २४ जना शिक्षक तथा विद्यालयका कर्मचारीलाई सम्मान गरेको छ ।

४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारीलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरिएको हो ।

यसैगरी, नगरपालिकाले सिल्भर भोलेन्टेरियस कार्यक्रम समेत लागू गरेको छ । अनिवार्य अवकाश तथा सुविधासहित अवकाश लिएका शिक्षकलाई समेत समेटेर नयाँ कार्यक्रम लागू गरिएको छ । विद्यालयमा शिक्षकहरू एक हप्ता भन्दा लामो समयसम्म बिदामा बस्दा भोेलेन्टियर समूहमा बसेका पूर्व शिक्षकलाई बोलाएर पठनपाठन गर्न लगाइने शिक्षा शाखका प्रमुख भुपेन्द्र कोइरालले बताए ।

नगरभित्रका प्राज्ञिक व्यक्तिलाई समेत सो भोलेन्टियर कार्यक्रममा समेटिने उनले बताए । ‘अभिभावकमा सामुदायिक विद्यालयप्रतिको आकर्षण घटिरहेको छ’, प्रमुख कोइरालाले भने, ‘कुनै विषयमा दक्ष व्यक्तिलाई लगेर पढाउन लगायौँ भने अभिभावक र विद्यार्थीको आकर्षण घट्दैन ।’

हाम्रोमा सर हुनुहुन्न भनेर कुनै पनि विद्यार्थी विद्यालय नआउने समस्या नहोस् भनेर नयाँ योजना ल्याएको समेत उनले बताए । ८ जना पूर्व शिक्षक आफैँ उक्त कार्यक्रममा उत्साहित भएर आएको समेत उनले बताए ।

त्यस्तै, पितृका नाममा एक बिरुवा रोप्न समेत शिक्षकलाई नगरपालिकाले निर्देशन गरेको छ । सोह्र श्राद्धमा ‘एक शिक्षक, एक बिरुवा’ पितृका नाममा रोप्न निर्देशन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए ।

त्यस्तै, ‘राम्रो विद्यालय, राम्रो चोक’ कार्यक्रम समेत नगरपालिकाले सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई सहभागी गराएर विद्यालयदेखि नजिकैको चोक सफा गर्ने रणनीतिसमेत अगाडि बढाइएको छ ।

शिक्षकहरूलाई सम्मान गर्दै बेलबारी नगरपालिकाकी कार्यवाहक मेयर ढाकाकुमारी पराजुलीले प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिएको समेत बताइन् ।

अनिवार्य अवकाश भएका ८ जना शिक्षक र सुविधासहित अवकाश भएका २८ जना शिक्षकलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उनीहरूलाई बेलबारी नगरपालिकाकी कार्यवाहक मेयर ढाकाकुमारी पराजुली र प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

यसअघि नगरपालिकाले शिक्षकहरूसँग कार्य सम्पादन मूल्याङ्कनसमेत गरेको थियो । नगर भित्र ३२ ओटा सामुदायिक विद्यालयमा ४ सय ११ जना शिक्षक रहेको शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतले बताइन् ।