धरानः गत असार २९ गते सुनसरी जिल्लाको नमूना विद्यालय घोषित भएको धरान १२ स्थित पब्लिक माध्यमिक विद्यालयलाई शिक्षा दिवसको अवसरमा धरान उपमहानगरपालिकाले पनि नगरको उत्कृष्ट विद्यालय घोषणा गरेको छ । जिल्लाकै नमूना विद्यालय बन्न सफल भएको पब्लिकलाई नगरले १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।

पछिल्लो समय धरानका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट विद्यालयको रूपमा अघि बढिरहेको विद्यालयमा विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ । विद्यालयले गुणस्तरीय शिक्षा, समय परिवर्तनसँगै विद्यालयको व्यवस्थापनमा भएको परिवर्तनले अहिले पब्लिक हाइस्कुल सामुदायिक विद्यालय मध्येकै नमुना हुँदै गएको छ ।

२००३ सालमा स्थापना भएको विद्यालय धरानकै पुरानो विद्यालय हो । अहिले करीब १ हजार ८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । बदलिँदो परिवेशसँगै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइको शुरुवात र प्रविधिमैत्री कक्षा सञ्चालनले विद्यालयलाई नमूना बनाएको हो । समयसापेक्ष परिवर्तन गर्दै शिक्षामा सुधार गर्न आवश्यक रहेकाले विद्यालयलाई नमूना बनाउन सफल भएको विद्यालयका प्राचार्य इन्द्रमोहन झाको भनाइ छ ।

अङ्गे्रजी माध्यमको पढाइमा विद्यार्थी आकर्षित हुन थालेपछि पब्लिकले पनि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट नै अध्यापन गराउन थालेको छ । कक्षा ६ मा एउटा सेक्सनमा अङ्ग्रेजी र अर्को सेक्सनमा नेपाली माध्यमबाट पढाइ हुन्छ भने कक्षा ७ देखि माथि विज्ञान, गणित, कम्प्युटर विषयहरू अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ ।

विद्यालयको गुणस्तरीय शिक्षाका कारण बर्सेनी विद्यार्थीको सङ्ख्या पनि थप हुँदै गएको छ । झाका अनुसार स्कुल तहमा साढे ६ सय विद्यार्थी छन् भने ११ कक्षामा साढे ६ सय पुगेपछि भर्ना बन्द गरिएको थियो । कक्षा १२ मा साढे ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । झाले भने, ‘शिक्षक, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी सबैको सहयोग भइरहेको छ, त्यसैले पनि विद्यालय अघि बढिरहेको छ ।’

विद्यालयमा प्राविधिक शिक्षातर्फ इलेक्ट्रिक इन्जिनियरिङको पढाई हुन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायको पढाइ हुन्छ । विगतमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थी कमजोर हुन्छन् भन्ने मान्यतालाई चिर्दै विद्यालयले दिएका विभिन्न सुविधाकै कारण विद्यार्थीलाई अध्ययनशील बनाएको छ ।

उनी भन्छन्, ‘हामी इन्ट्रान्स परीक्षा लिएर भर्ना गर्छौँ, विभिन्न छात्रवृत्तिहरू प्रदान गरेका छौँ । त्यसैले पनि विद्यार्थीलाई पढ्नुपर्छ भन्ने छ, विद्यार्थीको चार्मिङ बढेको कारण नै त्यही हो ।’ विद्यालयले प्लस टु मा मेनेजमेन्ट शुरु गर्दा ११ जनाबाट शुरु गरिएको थियो । अहिले करिब १ सय १२ जना छन् । विद्यालय परिसरमा सरसफाइ, खानेपानी, ल्याब, यातायातको व्यवस्था गरिएको छ । अध्ययनका लागि पश्चिममा बगुवादेखि पूर्वमा चोकटीसम्मका विद्यार्थी आउँछन् ।

विद्यार्थीको सुविधाका लागि केही अघिदेखि यातायातको व्यवस्था गरिएको छ । बसकै कारण पनि विद्यार्थी थपिएको उनले बताए । धरानका सामुदायिक विद्यालयमा पहिलो पटक विद्यार्थीलाई यातायातको सुविधा दिइएको छ ।

उनले भने, ‘बस पुगेन भनेर गुनासा आउन थाले, त्यसले गर्दा अर्को भाडामा लिएका छौं अझै दुईटा बस थप्नुपर्ने भएको छ ।’ विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएपछि अर्को वर्षका लागि अहिले नै भर्नाका लागि बुक गर्न थालेको उनी बताउँछन् ।
विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्न साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरेको छ । विद्यालयले १० कक्षासम्म विद्यार्थीसँग कुनै आर्थिक सहयोग वा कुनै शुल्क लिँदैन । टप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

झाले भने, ‘प्लस टु मा टपरले निःशुल्क पढ्न पाउँछन्, वर्षमा ३ ओटा परीक्षा हुन्छ । त्यसमा एक छात्र र एक छात्रा टपरलाई १ महिना बराबरको फि हातमा दिन्छौँ ।’ विद्यार्थीलाई प्रोत्साहन गर्दै उनीहरूबीच प्रतिष्पर्धाको भावना जागृत गराउनुपर्छ भन्ने मान्यता राखेको उनले बताए ।

विद्यालयले सुविधा सम्पन्न लाइब्रेरी बनाएको छ । विद्यार्थीलाई अध्ययनको लागि एसीसहितको रिडिङ रुमको योजना बनाएको उनले बताए । उनले भने, ‘जो विद्यार्थी पढ्ने खालको छ त्यसलाई मात्रै प्रवेश हुन्छ, पढ्ने वातावरण बनाउने छौं, एक पटकमा ६४ जना विद्यार्थी पढ्न पाउँछन् । दिनमा १ सय ५० विद्यार्थीहरु पढ्न सक्छन्, त्यसमा ५० जना क्रिम विद्यार्थी निकाल्न सक्यौं भने हामी सफल हुन्छौं, त्यो लक्ष्य लिएका छौं ।’

कम्प्युटर रुममा इन्टरनेटबाट विद्यार्थीलाई अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । डिजिटल स्मार्ट कक्षाको व्यवस्था गरिएको छ । प्रत्येक कक्षामा बुक कर्नर सिस्टम बनाइएको छ जहाँ शिक्षक नहुँदा पनि कक्षाकोठामा भएका पुस्तक पढेर विद्यार्थी बस्छन् ।

बत्तीको समस्या समाधान गर्न सोलारको व्यवस्था गरेपछि बिहान ६ बजेदेखि नै कक्षा शुरु हुने गर्दछ । सरकारले नगरपालिकामार्फत् दिवाखाजाका लागि बजेट विनियोजन गरिदिएपछि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गरिएको छ ।

धरान उपमहानगरपालिकाले चतरालाइनको बाटो विस्तार गर्दा विद्यालयको भवन भत्किने भएकाले भवनको अभाव हुने उनले बताए । उनले भने, ‘अहिले पनि बिल्डिङ अभाव भइरहेको छ, बाटो विस्तार गर्दा अझै भत्कन्छ, त्यसैले सबैसँग सहयोगको अपेक्षा गर्दछु ।’

विद्यालयमा यस वर्ष मात्रै नयाँ विद्यार्थी २ सय २६ जना भर्ना भएका थिए । त्यसमध्ये १ सय १९ जना निजी विद्यालयबाट आएको उनले बताए । पढाइमा सुधार हुँदै गएकाले सामुदायिक विद्यालयमा पनि आकर्षण बढेको उनको भनाइ छ । गाडीको व्यवस्थाले पनि विद्यार्थीको चार्मिङ बढ्दै गएको उनले बताए । विद्यालयले धरानभित्रका स्कुल तहका विद्यार्थीलाई मासिक ५ सय रुपैयाँ, प्लस टु मा अध्ययनरत सर्दू र सेउती खोलापारीका लागि ८ सय रुपैयाँ मासिक गाडीभाडा लिने गरेको छ ।