इटहरीः नेकपा इटहरीको विवाद अझैसम्म सुल्झन सकेको छैन। गत भदौ १२ गते पार्टीको नगर स्तरीय कार्यालयमा भएको तालाबन्दी अझै सम्म जारी छ । नगर कमिटी विस्तारका क्रममा पार्टी जीवनमा महत्त्वपूर्ण भूमिका खेलेका कार्यकर्तालाई पन्छाउने काम भएको भन्दै असन्तुष्ट पक्षले कार्यालयमा ताला लगाएको थियो, जुन अहिले सम्म कायमै छ ।
पार्टी भित्रको असन्तुष्टिलाई बेवास्ता गरिएको भन्दै तालाबन्दी गर्ने समूहले पुनः सामूहिक ज्ञापन पत्र बुझाएको छ । प्रदेशका मुख्यमन्त्री देखि पार्टी अध्यक्ष र प्रधानमन्त्री सम्मलाई बोधार्थ दिइएको ज्ञापन पत्रमा कमिटी विस्तारका क्रममा हेलचेक्राई गरिएको उल्लेख छ। यसले कार्यकर्ताको भावनामा ठेस पुर्याएको भन्दै मापदण्डअनुसार तल्ला कमिटीका जिम्मेवार कार्यकर्ता समक्ष छलफल नभई केही सीमित नेताले मनोमानी ढङ्गले पार्टी सञ्चालन गर्ने खोजेको आरोप छ ।
ज्ञापन पत्रमा भनिएको छ, मापदण्ड बनाएर पार्टी सङ्गठन सदस्य लिई निरन्तर काम गरिरहेका युवालाई नगरकमिटिमा २५ प्रतिशत स्थान दिइनुपर्छ । त्यस्तै दुुइ पार्टी बिच समायोजन भई एक पार्टी बनाउँदा धेरै मनोमानी भएको असन्तुष्ट पक्षको निचोड छ ।
असन्तुष्ट पक्षले जारी गरेको विज्ञप्तिमा अनुभवी व्यक्तिलाई कमिटीमा नराखी जिम्मेवारी विहीन बनाएको भन्दै अपमान गरिएको निचोड निकालिएको बताएको छ । उनीहरूले नवगठित कमिटीका सचिवलाई राजीनामा गराउन वा बर्खास्त गर्न माग राखेका छन् ।
पूर्व एमालेका इटहरी ५ का अध्यक्ष समेत रहेका वीरेन्द्र गौतमले ठुलो पाटी भनिए पनि सीमित नेताको घेरामा रहेका व्यक्तिलाई मात्र अघि बढाउने काम भएको बताए । 'हिजो अस्ति आएकाहरू स्केप गरेर माथिमाथि जाने , भुगोलमा काम गरेका जहिल्यै पछि पर्ने ?' उनले प्रश्न गरे ।
साथै, आगामी दिनमा गठन गरिने कमिटीमा पार्टी विधान र मापदण्डलाई कडाइका साथ पालना गर्न समेत विज्ञप्तिमा भनिएको छ ।