धरानः नेपाली काङ्ग्रेसको धरान उपमहानगर समितिको दोस्रो नगर सभा उपनिर्वाचनको तयारीमा केन्द्रित हुने भएको छ ।
मंसिर १४ गते हुने निर्वाचनका लागि समितिको नगर सभामा वडादेखि केन्द्रीयस्तरका नेतासम्मको उपस्थितिमा छलफल तथा बहस गरी धरान घोषणापत्र नै सार्वजनिक गरिने भएको छ । पत्रकार सम्मेलन गर्दै समितिले २५ गतेदेखि २७ गतेसम्म नगरसभाको आयोजना गरिने जानकारी दिएको छ ।
भदौ २५ गते धरानको भानुचोकमा पार्टी सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने भएका छन् । सभामा केन्द्रीय उपसभापति सहित पूर्व मन्त्री र केन्द्रीय नेताको उपस्थिति हुने भएको छ । २६ र २७ गते धरान सभागृहमा हुने बन्दसत्रमा धरानको विकास र आगामी कार्ययोजनाको विषयमा छलफल हुने धरान उपमहानगर समिति सभापति तिलक राईले बताए ।
उनले भने, ‘नगर सभा नियमित कार्यक्रम भए पनि यस पटक अलिक फरक हुनेछ । किनकि उपनिर्वाचनको मुखमा रहेकाले एजेण्डासहित छलफल र बहसका लागि बन्द सत्र दुई दिन गर्दैछौं, विभिन्न वडाबाट आएका सुझावलाई चुनावी एजेण्डाको रूपमा घोषणा पत्र तयार गर्नेछौँ ।’
नगर सभामा वडा कमिटीका पदाधिकारीसहित निर्वाचन परिचालन कमिटीका प्रतिनिधिको सहभागिता रहने भएको छ । बन्द सत्रमा अघिल्लो निर्वाचनको हारको समीक्षा गर्दै धरानको विकासको एजेण्डा, भावी रणनीति तथा कार्ययोजनाको विषयमा छलफल र बहस हुने भएको छ ।