सुनसरीः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनतालाई झुक्क्याउने मात्र काम गरिरहेको आरोप लगाएका छन् । सुनसरी सदरमुकाम इनरुवाबाट सुरु भएको काँग्रेसको दोस्रो जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले जनतालाई सुखी नेपाली बनाउने नारामा अधिकार खोस्ने काम भइरहेको बताए ।
उनले संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने देखि प्रजातन्त्रको खिलाफमा विभिन्न निर्णय गरेको भन्दै खबरदारीका लागि काँग्रेस तत्पर हुनुपर्ने तर्क गरे ।
कम्युनिस्टहरूको एकछत्र शासनले डरलाग्दो अवस्थाको सृजना भइरहेको भन्दै काँग्रेसले हाल सम्म प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन आन्दोलनको तयारी थाल्नुको विकल्प नभएको देउवा दाबी गरे ।
जागरण सभामा उपसभापति विजयकुमार गच्छदार, कृष्ण प्रसाद सिटौला, सह महामन्त्री प्रकाश शरण महतलगायतका नेताले सम्बोधन गरेका थिए ।
आज देखि सुरु भएको जागरण अभियान देशैभर १५ दिन सम्म चल्ने नेताहरूले जानकारी दिएका छन् ।