इटहरीः कम्प्युटरजन्य व्यवसायीहरूको छाता संस्था कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) सुनसरीमा विवाद आएको छ । यही भाद्र २१ देखी २३ गते सम्म भएको क्यान सुनसरी अधिवेशनको पदाधिकारी चयन देखी सदस्य  भन्दा धेरै मतदाता भएको भन्दै विवादमा आएको छ ।

७२ साधारण सदस्य र ३७ सदस्य मतदाता भएको क्यान सुनसरीको चुनावमा ३९ जनाले मतदान गरेको क्यान सुनसरीका निवर्तमान सचिव पुष्प अधिकारीले बताए । सर्वसम्मत निर्णय हुन्जेल सम्म बढी मतदाताको विषयमा सहमति भएको तर एकपछि अर्को विवाद आएपछि त्यो विषय समेत हल हुनुपर्ने अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘बढी मतदाता आएको मात्रै हैन एक जना मृत सदस्यको तर्फबाट समेत मतदान भएको क्यानको ग्रुपमा ग्राफिकाका सुरेशचन्द्र दाहालले प्रश्न समेत उठाउनु भएको छ ।’ मृत्यु भइसकेका इटहरीका कम्प्युटर व्यवसायी राजेन्द्र चौधरीको नाममा समेत मत खसेपछि संस्थामा बेथिति भएको प्रमाणित भएको अधिकारीले बताए ।

विवादको अर्को चुुरोः सचिवलाई सदस्य, सदस्यलाई सचिव र सहसचिव

क्यान सुनसरी विवादको मुख्य जरो भने पदाधिकारी चयनसँग जोडिएको छ । अध्यक्षमा चुनाव हुने र अध्यक्षको नेतृत्वमा पदाधिकारी चयन हुने क्यानको नियम छ । जस अनुसार अध्यक्षमा विजयी विशाल बास्तोलाले पदाधिकारी चयन गर्दा नामावली मागे ।

उपाध्यक्षको लागी निवर्तमान सचिव पुष्प अधिकारीले उम्मेदवार दिए । सहसचिवको लागी भगीरथ राजवंशीले उम्मेदवार दिए । तर, २३ गते नामावली दिएकोमा २४ गते शपथग्रहणको दिन अचानक नामावली फेरिएको राजवंशीले बताए । उनले भने, ‘मैले सहसचिवमा नाम दिएको थियो । मलाइ समेत नसोधीकन सहसचिव सुरेश चन्द्र दाहाललाई बनाइयो ।’

अधिकारीले दाबा गरेको उपाध्यक्षमा खड्गप्रसाद ओझालाई ल्याइयो । सहसचिवका दाबेदार राजवंशीलाई र उपाध्यक्षका दाबेदार निवर्तमान सचिवलाई सदस्यमा झारियो । यही कारण विवाद सुरु भयो ।

सहसचिव र उपाध्यक्ष बाहेकका पदमा भने हालसम्म विवाद देखिएको छैन । टिकाराम न्यौपाने सचिव र महेन्द्र गुरगाँइ कोषाध्यक्ष चयन भएका छन् । अनिश भट्टराई र दीपनारायण यादव सदस्य भएका छन् । सदस्य बनाइएका पुष्प अधिकारी र भगीरथ राजवंशीले भने सदस्यको शपथ लिएका छैनन् ।
क्यान सुनसरीको अर्को विवाद भएको क्षेत्राधिकारको पनि हो ।

नाममा सुनसरी जिल्ला स्तरि भनिएपनि सबै पदाधिकारी र सदस्यहरू इटहरीका मात्रै रहेका छन् । यस्तैगरि, नयाँ कार्यसमिति चयनताका भएको माइन्युटमा समेत असन्तुष्ट समूहले आपत्ति जनाएका छन् । निवर्तमान अध्यक्ष बलराम भन्डारीलाइ आमन्त्रित अतिथि बनाएर सामान्य नियम समेत जानकार नभएको देखिएको उनीहरूको आरोप छ ।

can sunsari controversial news pradeshportal.com

असन्तुष्ट पक्षको विज्ञप्ति,२४ घण्टा भित्र सम्बोधन गर्न अल्टिमेटम

विवाद बढेपछि उपाध्यक्ष र सहसचिवका उम्मेदवार एक विज्ञप्ति जारी गरेका छन् । केन्द्रीय सदस्यहरू ठाकुर प्रसाद श्रेष्ठ र दीपक पाठकसँगै क्यान महासंघलाइ बोधार्थ दिएर सार्वजनिक गरिएको विज्ञप्तिमा छानबिनको माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी उमेद्वारहरुलाइ जानकारी नदिई निर्वाचन समितिले निर्वाचनमा सामेल नभएका व्यक्ति समेतलाई शपथग्रहण गराउने कार्य भएको हुँदा, उक्त निर्वाचन विधि सम्मत नभएको दाबी गर्दै, यस किसिमले भए÷गरिएका निर्वाचनले संस्थाको हित नहुने भएको र विधिभन्दा बाहिर भएका कार्य तत्काल सच्याई संस्थाको गरिमालाई कायम राख्न जिम्मेवार तहबाट आवश्यक छानबिन तथा संस्थागत भूमिका निर्वाहको लागी हार्दिक अनुरोध गर्दछौँ ।’

विज्ञप्तिमा २४ घण्टा भित्र कारबाहीको माग समेत गरिएको छ ।

सबै काम विधिसम्मत भएको छ, धरानलाई समेट्छौँः  अध्यक्ष बास्तोला

क्यान सुनसरीको विवाद छताछुल्ल भए पनि त्यस्तो विवाद नभएको क्यान सुनसरीका नवनिर्वाचित अध्यक्ष विशाल बास्तोला बताउँछन् । प्रदेशपोर्टलसँग फोनमा कुराकानी गर्दै बास्तोलाले सबैको सहमतिमा पदाधिकारी चयन गरिएको र शपथ भएको बताए ।

क्यान सुनसरीमा इटहरी मात्रै समेटिएकोमा अब धरानलाई पनि समेट्ने योजना भएको पनि अध्यक्ष बास्तोलाले बताए ।