विराटनगरः  मुख्यमन्त्री शेरधन राईले प्रदेश एकका सिडियोलाई संघीय सरकारको मात्र प्रतिनिधि नठान्न आग्रह गरेका छन् । विराटनगरमा दुइ दिनदेखि जारी सुरक्षा बैठकको अन्तिम दिन आइतवार संचारकर्मीमाझ कुरा गर्दै राईले बदलिंदो सुरक्षा चुनौतीलाई सामना गर्न तीनै तहका सरकारबीच समन्वयको खाँचो रहेको औल्याएका हुन् ।
‘प्रदेश भित्र चन्दा आतंक, लागुुऔषधको ओसारपसार र संगठित अपराध कायमै छ, नागरिकको सुरक्षाका लागि तीनै तहका सरकारले संयुक्त रुपमा भुमिका खेल्नुुपर्ने आवश्यता रहेको छ ।’ उनले भने ।
राईले जनसहभागीताबीना सुरक्षा चुुनौती व्यवस्थापन गर्न कठिन हुने तर्क गरेका छन् । परिवर्तित व्यवस्थाको उपलब्धिलाई संस्थागत गर्न र जनतालाई सुरक्षाको प्रत्याभुति दिन कुनै कसरबाट कन्जुस्याँई गर्न नहुने उनको भनाई छ । आन्तरिक मामिला एवंक कानुन मन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको सुरक्षा अवस्था बलियो बनाउन निरन्तर छलफल जारी राख्ने बताए ।
बैठकमा प्रदेशका १४ जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । संघीय सरकारको गृहमन्त्रालाय र प्रदेश सरकारको आन्तरिक मामिला एवंम कानुन मन्त्रालयले पहिलो पटक संयुक्त रुपमा सुरक्षा बैठकको आयोजना गरेका हुन् । यस अघि संघीय सरकारले मात्र यस प्रकृतिको सुरक्षा बैठकको आयोजना गर्ने प्रचलन थियो ।