बिर्तामोडः झापा प्रहरीले बिर्तामोडबाट नेकपा विप्लव समूहका नेता पक्राउ गरेको छ । विप्लवका दुई जना नेतालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । झापा जिल्ला सेक्रेटरी प्रविन मिश्र (मनिष) र जिल्ला सदस्य टीका पोखरेललाई विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरूलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठ भने उनीहरूलाई पक्राउ गरेको विषय आफूलाई जानकारी नभएको बताउँछन् ।