सङ्खुवासभाः सङ्खुवासभाको धर्मदेवी नगरपालिका–८ अक्करको भीरमा भएको जीप दुर्घटनाका बेपत्ताको पहिचान खुलेको छ । खाँदबारी बाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप मङ्गलबार राती १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डीएसपी भीम लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ मा सन्तोष बिक, खाँदबारी–९ का सङ्गम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, २ महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् । जीपले दुई जना बिरामी बोकेको थियो ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो । दुर्घटनामा बेपत्ता भएकाहरूरुको खोजी कार्य जारी रहेको डीएसपी लामाले जानकारी दिए । त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण खोजीकार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।