बिर्तामोडः झापाको बिर्तामोड नगरपालिकाले ‘आचरण सचेतना’ शिक्षा लागू गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०७६ देखि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य आचरण शिक्षा लागू गरेको हो ।

‘आचरण सचेतना’ शिक्षाको पाठ्यक्रममा व्यावहारिक शिक्षासँगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रीतिरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने ट्राफिक नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने नोक्सानीलगायत विषयवस्तुलाई समेटिएको छ ।

त्यस्तै, पाठ्यक्रममा पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदूषण नियन्त्रण, व्यक्तित्व विकास पनि रहेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेर ‘आचरण सचेतना’ शिक्षा लागू गरेको हो । विद्यार्थीलाई घरपरिवार, आफन्त, शिक्षक, आफूभन्दा ठूला र सानासँगको व्यवहार सिकाउन ‘आचरण सचेतना’ शिक्षा लागू गरेको बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीले जानकारी दिए । उक्त शिक्षाबाट विद्यार्थीलाई सभ्य र संस्कारी बनाउन सकिने भएकाले आचरण शिक्षामा नगरपालिकाले लगानी गरेको प्रमुख शिवाकोटीले बताए ।

‘आचरण शिक्षाले समाजमा बढ्दै गएको विकृति हटाउने छ,’ प्रमुख शिवाकोटीले भने, ‘७ ÷८ वर्षका बालबालिकाले यो शिक्षा पाइरहेका छन्, जसले भविष्यमा गलत बाटोमा जानबाट उनीहरूलाई रोक्न सक्नेछ ।’ पाठ्यक्रमअनुसार विद्यार्थीलाई प्रयोगात्मकसहितको शिक्षा प्रदान गरिँदै आएको शिवाकोटी बताउँछन् ।

बिर्तामोड नगरभित्र १८ सामुदायिक र ५२ संस्थागत (निजी) विद्यालय छन् । ती सबै विद्यालयका कक्षा ३ र ४ का विद्यार्थीलाई ‘आचरण सचेतना’ शिक्षा दिनका लागि अहिले २ सय पाठ्यक्रम र करीब १० हजार पाठ्यपुस्तक लागू गरिएको छ । प्रयोगात्मक रूपमै विद्यार्थीलाई शिक्षा दिन सकिने गरी पाठ्यक्रम निर्माण गरिएकाले यो शिक्षा प्रभावकारी र नतिजामुखी हुने शिवाकोटीको भनाइ छ । नगरप्रमुख शिवाकोटीको परिकल्पनामा बालबालिकाको नैतिक, व्यावहारिक र व्यक्तित्व विकास सहितको विद्यालय शिक्षामा गुणात्मक परिर्वतन गर्न यो पाठ्यक्रम लागू गरिएको हो ।

प्रत्येक शैक्षिक सत्रमा क्रमागत रूपमा कक्षा वृद्धि गर्दै लाने योजना रहेको शिवाकोटीले बताए । ‘आचरण शिक्षा कक्षा ८ सम्म पु¥याउने योजना छ’, प्रमुख शिवाकोटीले भने, ‘अरु विषय पास गरेर आचरण विषयमा फेल हुने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने नीति नगरपालिकाको छ ।’

नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराएको छ । सामुदायिक र संस्थागत दुवैमा ‘आचरण सचेतना’ पाठ्यक्रम नेपाली भाषामै अध्यापन भइरहेको छ । नगरपालिकाले विद्यालयमा भएकै शिक्षकलाई तालीम दिएर यो विषय लागू गरेको हो । विद्यालयमा पढेका तथा सिकेका कुरालाई आफ्नो दैनिक जीवनमा लागू गराउन विद्यार्थीसँगै अभिभावकलाई पनि आचरण सचेतनाको ज्ञान दिने नगर शिक्षा अधिकृत युवराज पाण्डे बताउँछन् ।

कक्षा ३ र ४ का ५ हजार विद्यार्थीले आचरण शिक्षा लिइरहेका छन् । आचरण शिक्षा व्यवहार उपयोगी र आवश्यक रहेको अभिभावकको भनाइ छ । आचरण सचेतना शिक्षा शुरु भएसँगै विद्यार्थीको दैनिकी र व्यवहारमा सकारात्मक परिवर्तन आएको सरस्वती माध्यमिक विद्यालय बिर्तामोड–५ का सहायक प्रधानाध्यापक नारायण चम्लागाईँले बताए ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले राज्यको सङ्घीय ढाँचा अन्तर्गत स्थानीय आवश्यकता, स्थानीय विषय, क्षेत्र र शैक्षिक व्यवस्था अनुरूपको सन्दर्भ सुहाउँदो पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय तहलाई दिएको हुँदा बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले स्थानीय विषयका रूपमा स्थानीय पाठ्यक्रम तयार गरेको बताइएको छ ।

पाठ्यक्रमविद् नेपाल सरकारका पूर्व उपसचिव योगराज भट्टराईको सल्लाहअनुसार पाठ्यक्रम तयार गरेको बिर्तामोड नगरपालिकाले जनाएको छ । प्राथमिक विद्यालय पाठ्यक्रमले प्राथमिक तहभर स्थानीय तहमा मातृभाषा÷ स्थानीय विषयगत पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय पाठ्यक्रमलाई उपयोगी र व्यवहारमूलक बनाउन प्रयास गरिएको, विषयवस्तुको क्षेत्र र क्रम प्रस्तुत गरिएको, शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कनको प्रक्रिया निर्देश गरिएको बताइएको छ ।