बिर्तामोड: नेपाली काङ्ग्रेसका क्रियाशील कार्यकर्ताले भातृ सङ्गठन व्यवस्थापन गर्न सुझाव दिएका छन् । नेपाली काङ्ग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान (हिपतम) का क्रममा नागरिकका धारणा बुझ्न झापा क्षेत्र नम्बर–४ को झापा गाउँपालिका–४ पुगेका केन्द्रीय प्रतिनिधिसँग कार्यकर्ताले भातृ सङ्गठन व्यवस्थापन गर्न साझा सुझाव दिएका हुन् ।

पार्टी सङ्गठन सञ्चालनको मूल आधार भातृ सङ्गठन भएको बताउँदै कार्यकर्ताले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घसहितका भातृ सङ्गठनको निर्वाचन गर्न र साङ्गठनिक गतिशीलता प्रदान गर्न सुझाव दिएका हुन् । पार्टीका नेताहरूबीच एकता, प्रतिपक्षी दलको भूमिकालाई सशक्त पार्न वडा तहका कार्यकर्तासम्म प्रशिक्षण पु¥याउन सुझाव दिएका कार्यकर्ताले काङ्ग्रेसले सर्वसाधारणको धारणा बुझ्ने गरी ल्याएको जागरण अभियानको खुलेर प्रशंसासमेत गरे ।

जागरण अभियानका केन्द्रीय प्रतिनिधि लोकप्रसाद सङ्ग्रौला, दीपेन्द्र सेन्दाङ र जिल्ला प्रतिनिधि प्रेम सम्बाहाम्फे, जिल्ला सदस्य गोपाल उप्रेती, क्षेत्रीय सभापति जयनारायण शाह, प्रदेश क्षेत्रीय सभापति भीम राजवंशी, नेपाली काङ्ग्रेस झापा गाउँपालिका सभापति मोतीलाल गणेश, अञ्जु थपलियालगायतको टोली कार्यकर्ताको धारणा बुझ्न झापा क्षेत्र नम्बर ४ पुगेको हो ।

स्थानीय जनप्रतिनिधि र कार्यकर्ताबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले झापा गाउँपालिकाले सक्षम नेतृत्व पाएको भन्दै विकास निर्माणका लागि पनि लोकप्रिय भएको बताएका थिए । झापा क्षेत्र नं. ५ को ‘क’ मा भएका बेग्लाबेग्लै कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति रोहितकुमार शाह नेतृत्वको टोलीले सहजीकरण गरेको थियो ।

यसैबीच, झापा क्षेत्र नं ५ को प्रदेश ख अन्तर्गत दमक नगरपालिका २ मा आयोजित एक कार्यक्रमका बीच त्यागी र अग्रज नेतृत्वलाई सम्मान गरिएको छ । झापा क्षेत्र नं २ क अन्तर्गत कनकाई नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अभियानका केन्द्रीय प्रतिनिधि वसन्त भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सभापति उद्वव थापा, पूर्व सभापति सुधीरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला लगायतले सहजीकरण गरेका थिए । २ समूहमा विभाजन गरेर सुझाव लिइएको कार्यक्रममा समूहका तर्फबाट हरि आचार्य र नारायण नेपालले प्रस्तुति गरेका थिए ।

प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत लीला कटुवालले गरेका थिए भने कार्यक्रम सञ्चालन भोजराज सिटौलाले गरेका थिए ।

यता, झापा क्षेत्र नं–१ प्रदेश क अन्तर्गत मेचीनगरमा अन्तरक्रिया कार्यक्रमसँगै वडास्तरीय कार्यक्रमलाई पूर्णता दिइएको छ । केन्द्रीय प्रतिनिधि रमेशजङ्ग रायमाझी, क्षेत्रीय सभापति मणि उप्रेती, जिल्ला सदस्य टेकबहादुर लिम्बू, पुष्प पौडेल, विनोद घिमिरे, मेचीनगर सभापति इन्द्र बुढाथोकी, तरुण दल सभापति गोपाल तामाङ, बद्री खड्का, दीपक काफ्ले लगायतले सहजीकरण गरेका थिए ।