विराटनगरः संविधान दिवसको अवसरमा प्रदेश एक सरकारले प्रदेश भित्रका तीन विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा २४ औँ पटक सगरमाथा आरोहण गरी २५ औँ पटकमा सन्यास लिने घोषणा गरेका सोलुखुम्बु सगरमाथा आरोही कामरिती शेर्पा, भोजपुरकी अल्ट्रा धाविका मिरा राई र राष्ट्रगानका रचयिता ओखलढुङ्गा निवासी प्रदीपकुमार राई (व्याकुल माइला) लाई नगद ५÷५ लाख प्रदान गरिएको छ ।
समारोहमा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाम्फे, सभामुख प्रदीपकुमार भण्डारी, सरकारका अन्य मन्त्रीहरू, उच्च अदालतका प्रमुख न्यायाधीश लगायतको सहभागिता रहेको थियो ।
विराटनगरस्थित आदर्श माविबाट बिहान प्रभात फेरी पश्चात् शहीद रंगाशालामा विशेष समारोहको आयोजना गरिएको थियो । त्यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र विराटनगरको महेन्द्र चौकमा राखिएको ठुला आकारको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेका थिए ।
सर्वसाधारणको सहभागिता बढाउन प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका महत्वपुर्ण स्थानहरुमा झण्डा राख्ने, ५ हजार थान हाते झण्डा निर्माण तथा प्रचार प्रसार गरेको छ ।