विराटनगरः मुख्य मन्त्री शेरधन राईले प्रदेश एक सरकार संविधानलाई व्यवहारिक रूपमा लागु गर्ने अभ्यासमा रहेको बताएका छन् । सरकारले आयोजना गरेको संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले तीनै तहका सरकारको संवैधानिक दायरा स्पष्ट भएबमोजिम प्रदेश सरकार पनि अघि बढेको बताए ।
राईले प्रदेश सरकार सञ्चालनका लागि शासकीय रूपमा कुनै दुबिधा नभएको स्पष्ट पारेका छन् । ‘कानुनी र संस्थागत आधार खडा गरी तहगत सरकारको समन्वयकारी भूमिकाबाट समस्याको हल खोज्ने परिपाटीको विकास गरिएको छ ।’ उनले भने ।
संविधानमा प्रदत्त जनताका अधिकार व्यवहारमा प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा रहेको भन्दै व्यवहारिक कार्यान्वयनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कार्कीले जनताका प्रतिनिधिद्वारा लेखिएको पहिलो संविधान भएको हुँदा यसले सम्पूर्ण नेपाली जनताको भावनालाई सम्बोधन गरेको हुँदा विशेष हर्षोल्लासका साथ यो दिन मनाउन आग्रह गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।