धरानः मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई केन्द्रित गर्दै नेपाली काङ्ग्रेस धरान नगर समितिले घोषणापत्र सार्वजनिक गरेको छ ।
गत भदौ २५ गतेदेखि २७ गतेसम्म भएको काङ्ग्रेसको दोस्रो नगरसभाले पारित गरेको घोषणापत्र आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । आउँदो मंसिरमा हुने उपनिर्वाचनमा घोषणापत्रमै उल्लेख भएका मुद्दामा काङ्ग्रेसले चुनावी नारा बनाउने भएको छ । घोषणापत्रमा काङ्ग्रेसले प्राथमिकताको आधारमा नगरस्तरीय मुद्दाहरू सार्वजनिक गरेको छ । नगरस्तरीय मुद्दालाई समेटेर २४ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्दै नगर सभापति तिलक राईले कम्युनिष्ट सरकारले धरान नगरको विकासमा सिण्डिकेट लागू गर्न खोजिरहेको आरोप लगाएका छन् । दलाल र कमिसनखोर स्वार्थका कारण धरान भित्रभित्रै कमजोर बनिरहेको उनले बताए । घोषणापत्रमा खानेपानी समस्यादेखि कोशी करिडोर हाइटेन्सन प्रशारण लाइन बिस्तारसम्मका मुद्दा समावेश गरिएको छ । सभापति राईले खानेपानी समस्या, बसपार्क, एयरपोर्ट, सुकुम्बासी समस्या लगायत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न स्थानीय सरकारले प्राथमिकताका साथ काम नगरेको आरोप लगाए ।
भदौ २६ र २७ गते धरान सभागृहमा चलेको बन्द सत्रले घोषणापत्र तयार गरेको थियो । घोषणापत्रमा धरान–१७ मा पार्टीको कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने दिलकुमारी राईलाई धन्यवाद दिइएको छ ।
मंसिरमा हुने उपनिर्वाचन पारदर्शी, विश्वासिलो बनाउन कर्मचारीलाई परिचालन नगर्न निर्वाचन आयोगलाई काङ्ग्रेसले आग्रह गरेको छ । नगरपालिकाका कर्मचारी कम्युनिष्ट पार्टीकै सदस्य भएकाले उनीहरूलाई परिचालन गर्दा निर्वाचन पारदर्शी नहुने राईको भनाइ छ ।
अघिल्लो निर्वाचनमा कर्मचारीको पूर्वाग्रहका कारण निर्वाचन प्रक्रिया र मतगणनामा द्वन्द्व सिर्जना हुने अवस्था आएकाले आउँदो उपनिर्वाचनमा कर्मचारीलाई परिचालन गर्न नहुने उनको तर्क छ ।
काङ्ग्रेसको दोस्रो जागरण अभियानअन्तर्गत असोज ७ गते धरानमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा आउने जनाइएको छ ।