काँकरभिट्टाः विगत वर्षमा झैँ यस वर्ष पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती झापाको मेचीनगरमा भव्य रूपमा मनाउने निर्णय भएको छ ।

हरेक वर्ष मेचीनगर–६ स्थित देवकोटा पार्कमा महाकवि लक्ष्मीप्रसादको जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै आएको छ । देवकोटा पार्क व्यवस्थापन समितिको सम्पन्न पूर्ण वैठकले यो वर्ष पनि साहित्यिकसहित अन्य कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष गणेशकुमार खरेलको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय समाजसेवी बालकृष्ण थापाको अध्यक्षतामा ७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिको सचिवमा निरबहादुर कार्की ‘नेत्र’ तथा सदस्यमा दिपेश दाहाल, राजकुमार पराजुली, सरोज श्रेष्ठ र अर्जुन लम्साल रहेका छन् । बैठकले सो समितिका लागि सरोज श्रेष्ठ, विष्णुकुमार गौतम, अर्जुन लम्साल र अर्जुन राईलाई आमन्त्रित सदस्यमा राखेको छ ।