बिर्तामोडः झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी डम्बरकुमारी काफ्लेलाई चाडपर्वको उल्लासले छोएको छैन ।

बेलडाँगी शिविरमा बस्दै आएकी ८० वर्षीया काफ्ले चाडबाडमा उदास लाग्ने गरेकोे बताउँछिन् । उनी सो शिविरमा २८ वर्ष अघिदेखि बस्दै आएकी छिन् । ‘श्रीमान्ले दोस्रो बिहे गरे, मलाई छोडे’, काफ्लेले भनिन्, ‘सन्तान साथमा हुँदा पो चाडपर्व रमाइलो लाग्छ । मेरा २ जना छोरी छन् । एउटी अमेरिका गई अर्की छोरीको नेपालकै पश्चिममा बिहे भएको छ ।’ शिविरमा एक्लै बस्दै आएकी काफ्ले चाडपर्व नजिकिँदै गर्दा कोही आफन्त आउँछन् कि भन्ने आशमा दिन बित्ने गरेको सुनाउँछिन् ।

नेपाल लखेटिएपछि दाताले बनाइदिएको छाप्रो र राहतबाहेक आफ्नो सहारा केही नभएको उनी बताउँछिन् । ‘अहिले त दाताहरू पनि कम छन् । साउनमा ६ महिनाको ७ हजार रुपैयाँ पाएको थिएँ । त्यसैले खाने, लगाउने गर्नुपर्छ । छोरी अमेरिका त पुगी, पढाइ थिएन, सीप थिएन, काम गरेर जीवन चलाउन नै गाह्रो हुन्छ भन्छे’, काफ्लेले भनिन् ।

काफ्लेलाई मात्र होइन शिविरकै ६९ वर्षका भीमबहादुर क्षेत्रीलाई पनि चाडपर्वको उल्लासले छोएको छैन । बाँसका भाटाले बारेको, जस्तापाताले छाएको छाप्रोमा क्षेत्री एक्लै बस्छन् । उनी सो शिविरमा ८ वर्ष अघिसम्म भाइको साथमा बस्दै आएका थिए । बेलडाँगीस्थित शिविरमा २८ वर्षदेखि बस्दै आएका वृद्ध क्षेत्री ८ वर्षदेखि कुनै चाडपर्वमा हर्ष भन्दा पनि विस्मात हुने गरेको बताउँछन् ।

सन् २००८ देखि भुटानी शरणार्थीको तेस्रो देशमा पुनर्वास शुरु भयो । परिवारका सदस्य तेस्रो मुलुक पुनर्वासका क्रममा फरकफरक मुलुक पुगेपछि शिविरमा बस्दै आएका शरणार्थीलाई चाडपर्व आउन छोडेको हो । ‘भुटानबाट विस्थापित भएपछि दुई छोरा भारतको दार्जिलिङमै बस्छन्,’ उनले भने, ‘भाइसँगै बस्ने सोचले म बेलडाँगी आएँ । भाइ अमेरिका पुग्यो, अहिले आफू एक्लो छु ।’ क्षेत्रीका लागि चाडबाड आएको भन्दा नआएकै जाति हुने अवस्था बनेको छ । भएको सबै जायजेथा भुटानमा छोडेर आएका उनीहरू अहिले बेसहारा छन् ।

‘परिवार नै तितरबितर छ, चाडपर्व साह्रै खल्लो लाग्छ’ क्षेत्रीले भने । छोराहरू दार्जिलिङमै बसे, भाइ अमेरिका पुगेपछि एक्लो जीवन झन्झटिलो र उत्साहहीन बनेको उनको अनुभव छ । अहिले धेरैजसो शिविर खाली हँुदै गएपछि चाडपर्व आउँदा झनै पीडा हुने गरेको क्षेत्री बताउँछन् ।

क्षेत्रीजस्तै शिविरमा आश्रित अधिकांश शरणार्थीका आफन्त तथा परिवार युरोपका ८ ओटा मुलुकमा बसोबास गरिरहेका छन् । शरणार्थीलाई पुनर्वास गर्न सक्रिय आइओएमका अनुसार हालसम्म १ लाख १४ हजार बढी सङ्ख्यामा पुनर्वास भइसकेका छन् ।

काफ्ले र क्षेत्रीजस्ता सिङ्गो परिवार बिछोडिएपछि शिविरमा बस्ने अधिकांशलाई चाडपर्वले खासै छोएको छैन । शिविरमा अहिले भुटान नै फर्कने सोच भएका, वृद्धवृद्धा र अशक्त गरेर ७ हजार जना रहेका छन् । उनीहरू आफ्नो देश, आफ्नो शैली, आफ्नो परिवेश छोडेदेखि दाताको भरमा जीविकोपार्जन गर्दै आएका छन् । शिविर आसपासका क्षेत्रमा चाडपर्वसँगै रौनक बढ्दै गए पनि शरणार्थी सीता गौतम र दुर्गा क्षेत्रीलाई पनि जब पर्व नजिकिन्छ, उमङ्ग भन्दा निराशाले मन भारी हुने गरेको सुनाउँछन् ।

केही वर्ष अघिसम्म त फाटेको छानोमुनि आफन्तको साथमा चाडबाड मनाउँदा पनि मन जोडिन्थ्यो । तर परिवार नै विभाजित हुँदै तेस्रो मुलुक पुगेपछि शिविरमा रहेका शरणार्थीलाई पर्वहरू पीरका पर्याय बन्ने गरेको उनीहरू सुनाउँछन् ।