फाइल तस्बिर

इटहरीः जेठ १३ गतेदेखि शुरु भएको प्रदेशसभाको बर्खे अधिवेशन बुधबार अन्त्य भएको छ । ५३ बैठकमा कुल ६२ घण्टा ८ मिनेट सञ्चालन भएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

यो अधिवेशनमा १४ विधेयक पारित भए । जसमध्ये १३ ओटा विधेयक सर्वसम्मत पारित भए भने एउटा विधेयक विवादका बीच बहुमतले पारित भयो ।

प्रदेश सरकारले सभामा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा देखिएको विवादले प्रदेश संसदमा प्रतिपक्ष र सत्तापक्षको विवाद चुल्यायो । मनमोहन प्राविधिक विश्वविद्यालय बाहेक अन्य कानुनहरू सहमतिका आधारमा निर्माण भए ।

प्रदेशसभाको यो चौथो अधिवेशनसम्ममा ५ ओटा संशोधनसहित ४३ ओटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । जसमध्ये ४२ ओटा विधेयक सर्वसम्मत पारित भए । यो अधिवेशनले प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, सहकारी, स्वायत्त संस्था गठनसम्बन्धी विधेयक पारित गरेको छ ।

यस्तै, गाउँ सभा र नगर सभा सञ्चालन, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, विनियोजन र आर्थिक कार्यविधि लगायतका विधेयक पारित गरेको छ ।