बेलबारीः मोरङको सुन्दरहरैँचा नगरपालिका–१ मा बाढी पूर्वानुमान शाखा वर्षामापक केन्द्रले खोलामा पानीको वहाब बढ्नासाथ सूचना गर्न थालेको छ ।
मोरङका लोहोन्द्रा, सिंगिया र चिसाङलगायत खोलामा बाढी बढ्न सक्ने खतरा रहेको सूचना स्थानीयले म्यासेजमार्फत् प्राप्त गरेका छन् । पहिलो पटक साउन ८ गते बिहान १० बजे सूचना प्राप्त गरेका थिए भने दोस्रो सूचना असोज ११ गते दिउँसो २ बजे प्राप्त गरेका छन् ।
पहिलो पटक पठाइएको सूचनामा लोहोन्द्रा तथा चिसाङ खोलामा बाढी आउने जानकारी गराइएको थियो भने दोस्रो पटक पठाएको सूचनामा मोरङका लेटाङ, हरैंचा आसपासका क्षेत्रमा आइतबारसम्म सतर्क रहन आग्रह गरिएको छ ।
‘सूचना आउँदा जनधनको सुरक्षा गर्न सजिलो हुन्छ’, मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले भने, ‘हामीले पनि सबैलाई खबर गर्छौँ ।’ समयमै आउने सूचनाले ठूलो दुर्घटना हुन नदिने उनको भनाइ छ ।
‘पूर्वसूचनाले जनतालाई सूचना दिन सजिलो हुन्छ’, बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले भने, ‘अघिल्ला वर्षहरूमा जसरी धनजनको ठूलो क्षति हुनबाट यसले रोक्छ ।’
६६ वर्षमा २ पटक सूचना
कार्यालय स्थापना भएको साढे ६ दशकमा उत्तरी मोरङका जनताले २ पटक सूचना पाएका छन् । खोलानदीमा बाढी आउनुअघि नै नागरिकलाई सूचना दिन मोरङको सुन्दरहरैँचा नगरपालिका–१ मा बाढी पूर्वानुमान शाखा वर्षामापक केन्द्र स्थापना गरिएको ६६ वर्षमा गत साउनमा र शनिबार गरी जम्मा २ पटक सूचना पाएका हुन् ।
वि. सं. २०१० मा भारतले स्थापना गरेको वर्षामापक केन्द्र ०२४ मा नेपाललाई हस्तान्तरण गरेको थियो । मापक केन्द्रमा ५२ वर्षदेखि उमेरले ६० नाघेका १ जना कर्मचारी अहिले पनि कार्यरत छन् । ८ कक्षासम्म अध्ययन गरेका लक्ष्मीकुमार मास्केले ५२ वर्षदेखि पानी नाप्दै आए । उनले विभागमा जानकारी पनि गराउने गरेका छन् । पानी परेको बेला नाप्न मात्रै लगाउने गरेको उनी बताउँछन् । उनले पानी पर्नासाथ मापन गरेर विभागलाई पठाउने गरेका छन् ।
माथिल्लो क्षेत्रका खोलामा पानी बढेपछि तल्लो क्षेत्रमा जनधनको क्षति हुन नदिन भनेर नै वर्षामापक केन्द्र स्थापना गरिएको थियो ।
तर, शुरुमा हाइड्रोपावर, सडक निर्माण तथा पूर्वाधार निर्माणमा हुन सक्ने क्षति रोक्न मात्रै सम्बन्धित अधिकारीलाई सूचना दिने गरिन्थ्यो । ४ वर्षयता सबैलाई एसएमएस पठाउने सिस्टम तयार गरिएको मौसम विभागका सूचना अधिकृत विक्रम श्रेष्ठले बताए । विभागबाटै पानीको मात्रा नाप्ने यन्त्र जडान गरिएको उनी बताउँछन् ।