पाँचथरः पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ मा पर्छ बर्मे गाउँ । बस्तीभन्दा निकै टाढा रहेको यो गाउँमा जम्मा १७ घरको बसोबास छ । च्याङथापुबाट झण्डै एक दिनको पैदल यात्रापछि पुग्न सकिने बर्मेगाउँ पाँचथर जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा अन्तिम बस्ती हो ।

च्याङथापुबाट बेतेनीसम्म यातायात सञ्चालन हुन थालेपछि अहिले पैदल यात्रा छोटिएर करीब ४ घण्टामा झरेको छ । बस्ती थोरै अनि उच्च पहाडी क्षेत्र भएका कारण पनि विकासको कुनै गुञ्जायस त्यस क्षेत्रमा देखिन्नँ । गाउँका बालबालिकाको अध्ययनका लागि तिम्बुपोखरी आधारभूत विद्यालय छ । तर विद्यार्थी छैनन् ।

आधारभूत तहभन्दा माथि अध्ययन गर्नुपर्ने भए विद्यार्थीले गाउँ नै छोड्नुपर्ने बाध्यता छ । गाउँमा विद्यालय नभएपछि करीब १ दिनको यात्रा तय गरेर च्याङ्थापु, फलैँचा वा सदरमुकाम क्षेत्रमा डेरा गरी बसेर विद्यालय जानुपर्ने बर्मे गाउँका बालबालिकाको बाध्यता हो ।

स्थानीय पदम भट्टराईका ४ वर्षीय छोरा रोशन भट्टराई अहिले च्याङथापुस्थित विष्णु माविमा अध्ययनरत छन् । छोरी एजिला र एलिसा पनि घर बाहिर नै छन् । त्यस्तै सोही ठाउँकी धनकुमारी राईले पनि छोराछोरीलाई बुद्ध माविमा अध्यापन गराउन डेरामा राखेकी छिन् । कक्षा ६ मा पढ्ने गौरव राई र कक्षा ९ मा पढ्ने भूमिका राईले अध्ययनकै लागि घर छोडेको लामो समय भयो ।

सोही गाउँका मानबहादुर राईले करीब १ दिनको पैदल दूरीमा रहेको नारायणी माविमा पढाउनका लागि छोरी सबिना राईलाई डेरा राखेको लामो समय भयो । उनी अहिले कक्षा ६ मा अध्ययन गर्दैछन् । सोही गाउँका नरबहादुर राईले पनि छोरीलाई विद्यालय अध्ययन गराउन यस्तै अवस्था बेहोरिरहेका छन् । करीब १ दिनको पैदल दूरीमा रहेको नारायणी माविको कक्षा ९ मा छोरी कविता राई अध्ययन गर्दै गरेको उनले सुनाए ।

देशका अन्य क्षेत्रमा उच्च शिक्षाका लागि घर छोड्ने र डेरा बस्ने भन्ने विषय सामान्य हो, तर गाउँमा विद्यालय नै नभएपछि कक्षा १० सम्मको अध्ययनका लागि पनि गाउँ छोड्नुपर्ने समस्या भने निकै कम गाउँमा छ ।

लामो समयदेखि बर्मेगाउँका बासिन्दा त्यो समस्या भोगिरहेका छन् । गाउँमा भएको एउटा आधारभूत विद्यालय पनि गाभिने हल्ला गाउँमा छ । स्थानीय पदम भट्टराईले भने, ‘एउटा भएको आधारभूत विद्यालय पनि विद्यार्थी सङ्ख्या नपुगेर अन्तै जाने भन्ने सुनिन्छ । हामी माग गर्छौैं त्यसो नहोस् ।’

अहिले सो विद्यालय (तिम्बुपोखरी आधारभूत विद्यालय) मा ९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय गाभियो भने ती विद्यार्थीले पनि गाउँ छोड्नुबाहेक अरु विकल्प छैन ।

कलेज तहमा पढ्ने छोराछोरीलाई अध्ययनका लागि टाढा पठाउन समस्या नभए पनि कक्षा १, २ मै घरभन्दा टाढा राखेर पढाउनुपर्दा पीडा हुने गरेको स्थानीय दिलमाया राईले बताइन् ।

बर्मे गाउँका १७ परिवारका १० जना बालबालिका अहिले जिल्लाका विभिन्न विद्यालय र जिल्ला बाहिर अध्ययन गरिरहेका छन् । कक्षा ६ देखि माथिका कक्षा पढ्न अनिवार्य रूपमा गाउँ छाड्नुपर्छ ।