विराटचोकः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मोरङको सुन्दरहरैंचा नगरपालिकाले १ वर्षको लागि दोस्रो पटक नगरमाता र नगरपिता घोषणा गरेको छ । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाको आयोजनामा भएको कार्यक्रममा नगरमाता र नगरपिता घोषणा गरिएको हो ।

सुन्दरहरैंचा– ७ की १ सय १ वर्षीया मनमाया लुइँटेल र सुन्दरहरैंचा– ९ का १ सय वर्षीय दर्जमान राई क्रमशः नगरमाता र नगरपिता घोषित भएका हुन् । गत वर्ष ज्येष्ठ नागरिक दिवसकै दिन सुन्दरहरैँचा – ७ की १ सय १० वर्षीया महेश्वरा अधिकारी र सुन्दरहरैंचा – ८ का १ सय ३ वर्षीय रामबहादुर तामाङ नगरमाता र नगरपिता घोषित भएका थिए ।

मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, विशिष्ट अतिथि उपमेयर धनमाया तामाङ, अतिथि भोलेश्वर दुलाल, आयोजक संस्थाका अध्यक्ष रामकुमार कार्कीलगायतले विशेष सम्मानका साथ नगरमाता र नगरपिता घोषणा गरेका थिए ।

नगरमाता र नगरपितालाई दोसल्ला, सम्मानपत्र, लठ्ठी, थाल, बटुका, पानी तताउने इलेक्ट्रिक जग, छाता तथा जनही नगद ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै, प्रत्येक वडाका ज्येष्ठ १ जना महिला र १ जना पुरुषलाई दोसल्ला र सम्मानपत्रका साथमा नगद १ हजार २ सय रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर ढकालले ज्येष्ठ नागरिकलाई गरिने सम्मानले ऊर्जा थप्ने बताए । नगरमा रहेका ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै उपचारको व्यवस्था गर्ने तयारी भइरहेको र ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने योजना रहेको पनि उनले बताए । सबै वडामा सामाजिक सुरक्षा भत्ताको रकम निकासा भइसकेकाले धेरै वडाले दशैं अघि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उनको भनाइ थियो ।

त्यस्तै, अतिथि दुलालले उत्कृष्ट छोराबुहारीलाई पनि सम्मान गर्नुपर्ने बताए । ज्येष्ठ नागरिकको लागि आफूले सक्दो मद्दत गर्ने उनको भनाइ थियो । पूर्णप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको औचित्यमाथि संस्थाका महासचिव रामप्रसाद गजुरेलले प्रकाश पारेका थिए ।

sundar haraicha jyestha nagarik  (1) sundar haraicha jyestha nagarik  (2) sundar haraicha jyestha nagarik  (5) sundar haraicha jyestha nagarik  (6) sundar haraicha jyestha nagarik  (7) sundar haraicha jyestha nagarik  (8) sundar haraicha jyestha nagarik  (9) sundar haraicha jyestha nagarik  (10)