इटहरीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरीमा नेता चयनको क्रममा विधान र योग्यता मिचिएपछि भएको विवादले पार्टीको ब्यानरमा चियापान हुन सकेन । नेकपा इटहरीका अध्यक्ष ज्वाला नामले परिचित बहादुर सिंह तामाङ तथा सचिव काशिनाथ दंगालले सामाजिक सञ्जालबाट सामूहिक शुभकामना दिएर औपचारिकता पुरा गरेका छन् ।
पार्टी विवादले विगत ३४ दिनदेखि पार्टी कार्यालयमा ताला लागेको छ । अझैसम्म ताला नखुल्दा पार्टीको औपचारिक ब्यानरमा कार्यक्रम हुन पाएका छैनन् । नेकपाका असन्तुष्ट पक्षले भने आज इटहरीको दुर्गा पार्टी प्यालेसमा आज शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्यो ।
नेकपा केन्द्रीय सदस्य तैयब हुसेन प्रमुख अतिथि भएको कार्यक्रममा प्रदेश १ का सांसद तथा नेकपा प्रदेश १ सदस्य सर्वध्वज साँवा, नेकपा प्रदेश सभा सदस्य लिलम बस्नेत, पूर्व संविधानसभाका सदस्य तथा प्रदेश १ सरकारका कानुनी मस्यौदा सल्लाहकार रेवतीरमण भण्डारी, नेकपा जिल्ला नेता मदन चुडाल लगायतको उपस्थिति रहेको थियो ।
नेपालीहरूका महान् चाडहरु दसैँ, तिहार र छैठको अवसरमामा नेकपा सम्बद्ध युवाहरूले आयोजना गरिएको कार्यक्रमको सभापति असन्तुष्ट पक्षका नेता वीरेन्द्र गौतमले गरेका थिए । कार्यक्रममा बोल्दै गौतमले आफूहरू असन्तुष्ट पक्षधर नभएर विधान, विधि र बरीयताका आधारमा सङ्गठनको नेतृत्व चयन हुनुपर्ने पक्षधर भएको बताए ।
सुनिल कार्कीले सञ्चालन गरेको र शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्ने प्रदेश १ का सांसद तथा नेकपा प्रदेश १ सदस्य सर्वध्वज साँवा, नेकपा प्रदेश सभा सदस्य लिलम बस्नेत, पूर्व संविधान सभाका सदस्य तथा प्रदेश १ सरकारका कानुनी मस्यौदा सल्लाहकार रेवतीरमण भण्डारी ,नेकपा सुनसरी नेता मदन चुडाल लगायतले पार्टी विधान सम्मत चल्नुपर्नेमा जोड दिए ।
दिउँसो २ बजेबाट दुई घण्टा सञ्चालन भएको कार्यक्रममा इटहरी र आसपासका नेकपाका सयौँ नेता तथा कार्यकर्ताहरूले उपस्थिति भएको थियो । उपस्थितिको रेकर्ड राख्न सक्रिय नेकपा इटहरीका युवा नेता होमनाथ धमलाले कार्यक्रममा एघार सय जनाको उपस्थिति भएको जानकारी दिए ।
के हो नेकपा इटहरीको असन्तुष्टि?
इटहरीमा पूर्व माओवादी र पूर्व एमाले बिच एकीकरण भएर बनेको नेकपा नगरकमिटिमा व्यापक असन्तुष्टि रहेको छ । खासगरि पूर्व एमाले पक्षधरमा असन्तुष्टि ज्यादा छ । पूर्व माओवादीले अध्यक्ष र पूर्व एमालेले सचिव पाएकोमा सचिवमा पूर्व एमालेका पदाधिकारी र कयौँ योग्यलाई माइनस गरेर जुनियर काशिनाथ दंगाललाइ ल्याइएकोमा व्यापक असन्तुष्टि रहेको छ ।
दंगाल मात्रै हैन वडा देखी उपमहानगर कमिटीमा रहेका सदस्यहरू भीम आचार्य पक्षधरहरूलाई मात्रै समेटिएर बाँकीलाई नियतबस पाखा लाइएको असन्तुष्ट पक्षधरको भनाइ छ । यही असन्तुष्टिसँगै नेकपा इटहरीका युवाहरूले भदौ १२ गते पार्टीको उपमहानगर कमिटीमा तालाबन्दी गरे भने भदौ ३१ मा प्रदेश कार्यालयमा पनि तालाबन्दी गरे ।
हाल वार्ता भइरहेपनि निचोडमा भने नपुगेको असन्तुष्ट समूहका एक नेता वीरेन्द्र गौतमले बताए । उनले भने, ‘आज पनि वार्ता भएको थियो तर नतिजा आउन सकेन ।’