इटहरीः इटहरी २० तरहराको किड्स ह्याप्पी होममा एक महिना पढाउन आएकी स्विजरल्यान्डकि अवकाश प्राप्त शिक्षिका फ्रान्जिस्का जुरफ्लुले बच्चाहरूलाई अधिकांश समय खेल्न दिनुपर्ने बताइन ।

इटहरीमा बुधवार नेपाली र स्विज शिक्षा प्रणालीको बारेमा बोल्दै फ्रान्जिस्काले नेपाल र स्विजरल्यान्डको शिक्षण विधि नै फरक भएको बताइन । नेपालमा अभ्यास कम तर सिद्धान्त धेरै पढाइने तर स्विजरल्यान्डमा भने ठिक विपरीत भएको उनले बताइन ।

स्विजरल्यान्ड सरकारको विभिन्न अवकाशप्राप्त विज्ञहरूलाई विदेशमा अनुभव बाँड्न पढाउने स्विस कन्ट्याक्ट्को कार्यक्रम सिनियर एक्स्पर्ट क्रप्स् (एसइसी)मा जोडिएर नेपालमा पहिलोपटक आएकी फ्रान्जिस्कासँग प्रदेशपोर्टल डटकमले संक्षिप्त कुराकानी गरेको छ । कुराकानीको शारांशः

के यो नेपालमा तपाइको पहिलो भ्रमण हो? कसरी नेपालसम्म आउनु भयो?

म सिनियर एक्स्पर्ट क्रप्स्मा सन २००९ बाट जोडिए । यहाँ जोडिएपछि मैले काम गरेको टुर गाइडको दुई दशक लामो अनुभव बाँड्न म पानामा सन २०१० मा पुगे । नेपालसँग भने किड्स ह्याप्पी होमको कारणले जोडिए ।

सिनियर एक्स्पर्ट क्रप्स्मा मैले टुर गाइड हुनु अगाडि प्राथमिक शिक्षिकाको काम पनि गरेकोले त्यो विधा पनि भरेको थिए । किड्स ह्याप्पी होमबाट मलाइ मार्चमा प्रस्ताव आयो । त्यो बेला आउन मिलेन र म सेप्टेम्बरमा आएको हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो । दक्षिण एसियामा भने म यस अगाडि भारतको जयपुरमा पनि गएको थिए । त्यहाँ भने स्कुलको काम नभएर पर्यटनको काममा गएको थिए ।

स्विजरल्यान्डका र नेपालका किन्डर गार्डेनहरूमा के फरक छ ?

स्विजरल्यान्ढमा  पढाइ भन्दा खेल धेरै हुन्छ । यहाँ पढाइ धेरै पढाइ र थोरै खेल हुन्छ । आफ्नो जिउले साथ नदिईकन २ वर्षको हुँदैबाट विद्यार्थीहरुलाइ किन्डर गार्डेनमा भर्ना गरिएको हुन्छ । यो चाहिँ फरक छ । बच्चाहरूलाई अङ्क देखी अक्षर सिकाइन्छ ।
नेपालमा अङ्ग्रेजी प्रणाली छ । हप्तामा चार दिन थ्योरी र एक दिन अभ्यास हुन्छ । स्विस एजुकेसन भने फरक हुन्छ । त्यहाँ चार दिन अभ्यास र एक दिन मात्रै थ्योरी हुन्छ । स्विसमा थ्योरी भन्दा अभ्यासमा ध्यान दिइन्छ । जस्तो फर्निचरको अध्ययन छ भने चार दिन अभ्यास र एक दिन मात्रै थ्योरी हुन्छ ।

swiss citizen pradeshportal.com

 

नेपालको शिक्षामा के राम्रो लाग्यो?

मैले इटहरीको किड्स ह्याप्पी होममा हेरे । शिक्षकहरू धेरै दयालु र इमानदार लाग्यो । विद्यार्थीहरूमा पढ्ने उत्साह देखियो । मैले नानीहरूको मात्री भाषा नभएको अङ्ग्रेजीमा सिकाए ।  उनीहरूले बुझ्न चाहे । डिजिटल प्रविधिमा हुने पढाइ राम्रो लाग्यो । यसले बच्चाहरूलाई चाँडै सिकाउँछ । 

अन्तिममा के भन्न चाहनु हुन्छ?

बच्चाहरूलाई अधिकांश समय खेल्न दिनुपर्छ । विद्यालयमा घरमै खेलाउन सक्ने खेलहरू भन्दा खुल्ला मैदानमा खेलाउन सक्नुपर्छ । यो वा त्यो खेल भन्ने हैन स्वतन्त्र निश्चित क्षेत्रमा खेल्ने वातावरण दिनुपर्छ । उनीहरूले स्वतन्त्र रूपमा खेल्न पाउनुपर्छ । किड्स ह्याप्पी होम स्कुल चाहिँ अत्यन्तै स्तरीय लेभलको लाग्यो । यो स्कुलको डिजिटल लाइब्रेरी, सुन्दर वातावरण, खेलमैदान र पूर्वाधार तारिफयोग्य छन् ।