धरानः स्थानीय सरकार सञ्चालन ऐन प्रदेश सरकारले पारित गर्न नसक्दा अधिकार खोज्ने क्रममा समस्या उत्पन्न भएकाले आउँदो हिउँदे अधिवेशनमा कार्यविधिले प्रवेश पाउने प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् ।

धरान उपमहानगरपालिकाले बिहीबार आयोजना गरेको दशैं, तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख भण्डारीले स्थानीय निकायको अधिकार खोज्ने कुरामा केही समस्या भइरहेकाले सञ्चालनमा समेत समस्या देखिएको बताउँदै आउँदो हिउँदे अधिवेशनमा कार्यविधिले प्रवेश पाउने बताएका हुन् ।

स्थानीय तह सञ्चालनमा प्रदेशको कार्यविधि नबन्दा अधिकार कार्यान्वयनमा केही समस्या आएको उनले बताए । उनले भने, ‘कानुनी हिसाबले नै विधेयक बन्छ, त्यसले स्थानीय तह सञ्चालनमा सहज ल्याउँछ ।’ प्रदेश सरकारले कार्यविधि तथा विधेयक बनाउन ढिलाइ गर्दा जनप्रतिनिधिहरूको सेवा सुविधा पनि कटौती गर्नुपर्ने अवस्था अघिल्ला वर्षमा आएको उनले बताए ।

अघिल्लो वर्ष धरान उपमहानगरपालिकाले जनप्रतिनिधिले सेवासुविधा तोकेपछि प्रदेश सरकारले बनाएको विधेयकअनुसार रकम बढी देखिँदा फिर्ता गर्नुपर्ने बाध्यता बनेको थियो । त्यसैले पनि प्रदेश सरकारले चाँडै नै कार्यविधि बनाउने तयारी गरेको उनले बताए । आउँदै गरेका चाडबाडले एक आपसमा भाइचाराको सद्भाव कायम गर्दै समग्र प्रदेशको समृद्धिमा सहकार्य गर्ने उनले विश्वास लिएका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका धरान उपमहानगर सभापति तिलक राईले नगरपालिकामा सबैको प्रतिनिधित्व भएको महसुस गराउन आवश्यक रहेको बताए । नेतृत्वले कसैलाई पूर्वाग्रह नराखी सबैको साझा कार्यक्रम बनाउनुपर्ने उनले बताए । दशैंतिहारको शुभकामना दिँदै राईले सबैको साझा नेतृत्व बनाउन आजैदेखि शुरुवात गर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले धरानको विकासमा उल्लेख्य उपलब्धीहरू हासिल गर्न सफल भएको बताइन् । उनले सङ्घीय सरकारबाट सडक बिस्तारदेखि साबिकका गाउँपालिकालाई नगरपालिकाको नागरिक भएको महसुस हुने गरीका योजना कार्यान्वयनमा आइसकेको बताइन् ।

उनका अनुसार धरानदेखि हर्दिया हुँदै कन्यापोखरीसम्मका लागि करीब ७६ करोडको सडक बिस्तारको योजना ठेक्का लागिसकेको छ । त्यसैगरी तरकारी बजारलाई व्यवस्थापन गर्न तथा सेउती र सर्दू करिडोरका लागि योजना पनि ठेक्का लागिसकेको उनले बताइन् ।

त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य उमिता बराइली, सावित्री श्रेष्ठ, नेकपाका धरान उपमहानगर अध्यक्ष नारायण सुवेदी, नेकपाका नेता प्रकाश राई, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख राजेश पौडेललगायतले दशैंको शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा धरान उपमहानगरपालिकाबाट अवकाश लिएका कर्मचारी ईन्द्र श्रेष्ठलाई बिदाइ गरिएको थियो । कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले मायाको चिनो प्रदान गर्दै श्रेष्ठलाई बिदाइ गरेकी थिइन् ।