काँकरभिट्टाः नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चाडपर्वले धार्मिक, सामाजिक, सांस्कृतिक एव्म व्यक्तिगतसहित धेरै कुराको अर्थ लगाउने बताएका छन् ।
आज झापाको मेचीनगरमा पार्टीको भातृ सङ्गठन नेपाल तरुण दल झापाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री सिटौलाले मानिसको व्यवहार गलत भए मानिसले जतिसुकै असल चरित्र देखाए पनि उसलाई समाजले हेर्ने दृष्टिकोण जहिले पनि सकरात्मक नहुने बताए ।
सबैभन्दा पहिले आफूबाटै परिवर्तन जरुरी रहेको प्रसङ्ग उल्लेख गर्दै नेता सिटौलाले हरेकले नकरात्मक सोचलाई मनबाटै निकालेर फ्याँक्न र सधैँ सकरात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले अहिलेको नेकपाको सरकार काण्डैकाण्डमा फसेका कारण यो सरकारको आयु खासै लामो नभएको बताए । नेपाली काङ्ग्रेसभित्र गुट उपगुट नभएको दाबी गर्दै अध्यक्ष बस्नेतले अनुशासन नभएका नेता कार्यकर्तालाई पार्टी कारवाही गर्ने कुरामा कसैले पनि चित्त नदुखाउन आग्रह गरे । अहिले तरुण दलभित्र देखिएको विवादका विषयमा उनले क्षमा माग्दै अबको ६ महिनाभित्र तरुण दलको केन्द्रीय महाधिवेशन हुने बताए ।
तरुण दल जिल्ला अध्यक्ष गोपाल तामाङले कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । पार्टीका झापा उपसभापति राम कट्टेलले नेकपाको सरकारबाट नेपाली जनता वाक्कदिक्क भएका कारण दिनानुदिन ओली नेतृत्वको सरकार नेपाली जनता समक्ष अलोकप्रिय बनेको बताए ।