काँकरभिट्टाः सङ्घीय सांसद सुरेन्द्रकुमार कार्कीले पुरुष जति पूँजीवादी र महिला जति समाजवादी भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी १ नम्बर क्षेत्र समन्वय समिति झापाले आज धुलाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पार्टीका विदेश विभाग उपप्रमुख रहेका नेता कार्कीले पुरुष जहिले पनि हिंस्रक मात्र हुने र महिला समाजवादी खालको सबैसँग मिलेर बस्ने सिर्जनामूलक काममा लाग्ने स्वभावको हुने विचार व्यक्त गरे ।
संविधान सभा सदस्य एवम् नेकपा झापा जिल्ला इञ्चार्ज रविन कोइरालाले लामो समयसम्म पार्टी एकीकरण प्रक्रिया लम्बिएका कारण धेरै नेता कार्यकर्तामा निराश छाएको तर अब नेकपाका कोही पनि नेता कार्यकर्ताले निराश हुनुनपर्ने बताए । अहिले नेकपा नेतृत्वको सरकार असफल बनाउन धेरै चलखेल शुरु भएको भन्दै उनले हरेक नेता कार्यकर्ताले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।
१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, १ नम्बर पार्टीका प्रदेश कमिटी सदस्य विष्णु प्रसाई, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राजु कार्कीलगायतले बोलेका थिए ।
प्रदेश क्षेत्र समन्वय समितिका संयोजक बन्धनकुमार मुण्डाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन १ नम्बर क्षेत्र समन्वय समिति झापाका सचिव प्रकाश भण्डारीले गरेका थिए ।