बेलबारीः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ र ६ का ६० परिवार मुसहर बस्तीमा दशैंको रौनक नै आएन । सबैतिर दशैंको रौनक छाए पनि उक्त बस्ती भने सुनसान नै दशैंभरी नै रहिरह्यो । गरिबीका कारण मुसहर बस्तीमा दशैंले नछोएको हो ।
मजदुरी गरेर बिहान बेलुका छाक टार्ने गरेका उनीहरूका लागि यो वर्षको दशैं नरमाइलो लागेको स्थानीय लहरी ऋषिदेवले बताइन् । मजदुरी गरेर आफ्नो जीविका चलाउने गरेका मुसहर बस्तीका बासिन्दाका लागि खोलाजन्य पदार्थ निकासी गर्ने समयसँगै दशैं भएकाले मनाउन खर्च अभाव भएको लहरीको भनाइ रहेको छ ।
असोज १ गतेदेखि खोलाजन्य पदार्थ गिटी, बालुवा, ढुङ्गा उत्खनन गर्न अनुमति दिने गरिन्छ । ३ महिनासम्म खोला बन्द हुँदा दशैं नै बन्द भएको उनको गुनासो छ । असार साउन र भदौ महिनामा खोलाजन्य पदार्थ निकाल्न पाइँदैन । उक्त बस्तीका अधिकांश युवाहरू ट्याक्टरमा खोलाजन्य पदार्थ लोड र अनलोड गर्ने काम गरेर आफ्नो जीविका चलाउँछन् ।
गरीबी र अशिक्षा तथा अव्यवस्थित बसोबासका कारण पछाडि परेको मुसहर बस्तीका बासिन्दाका लागि यो दशैं ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’जस्तै भएको छ । बिहान खाए बेलुका के खाने भन्ने समस्या हुने सो बस्तीका बासिन्दाले मजदुरी गरेर पेट पाल्ने गरे पनि यो दशैंमा भने मजदुरी गरेको पैसा ऋण तिर्न नै नपुगेको स्थानीय कलाचन ऋषिदेव बताउँछन् ।
उनीहरूको समस्या गरीबी मात्रै होइन । जङ्गलको मुखमै जोडिएको बस्तीमा जङ्गली हात्तीले समेत दुःख दिने गरेको छ । रातको समयमा धेरै समय उनीहरू जागै बस्ने गर्छन् । आँखा झिमिक्क नगरी रात काट्नु परेको जहरी ऋषिदेव बताउँछिन् ।
गाउँदेखि नजिकै विद्यालय भए पनि एसईई पास गरेका कोही पनि त्यो बस्तीमा छैनन् । नजिकै एक सामुदायिक विद्यालय भए पनि सामान्य लेखपढमात्रै गरेका युवायुवती बस्तीमा पाइन्छन् । मोरङ क्षेत्र नम्बर ६ मा सो बस्ती पर्छ । सो क्षेत्रबाट विजयी सङ्घीय सांसद लालबाबु पण्डित मात्रै नभई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू समेत त्यहाँ विकासका योजना लिएर नआउने स्थानीय योगेश ढुङ्गेल बताउँछन् ।
ढुङ्गेलका अनुसार कार्यपालिका सदस्य भक्तकिरण राईले सो बस्तीमा एउटा घर बनाइदिएका छन् भने अन्य सहयोग पाएका छैनन् । चुनाव जितेपछि मुसहर बस्तीका समस्या बुझन्का लागि पनि मन्त्री पण्डित नआएको स्थानीय बताउँछन् ।