धनकुटाः धनकुटास्थित जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय परिसरमा सरकारी नम्बर प्लेटका सवारी साधन यत्रतत्र देख्न सकिन्छ । तर कार्यालय भने सवारी साधन भाडामा लिएर प्रयोग गर्न बाध्य छ । तत्कालीन जिल्ला प्राविधिक कार्यलयले आफ्नो मातहतमा रहेका सवारी साधनसहितका सामग्री अन्य कार्यालयलाई हस्तान्तरण नगर्दा यो अवस्था आएको हो ।
सङ्घीयता लागू भएसँंगै जिल्ला प्राविधिक कार्यालयको संरचना समेत स्थानीय तहमा समायोजन भयो । तर समायोजन भएको कार्यालयको सामग्री अन्य कार्यालयलाई हस्तान्तरण नगर्दा धनकुटामा करोडौ मूल्य बराबरका सामग्री बेवारिशे बनेका छन् ।
अहिले जिल्ला प्राविधिक कार्यालयको पुरानो भवनमा जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय र पूर्वाधार विकास कार्यालयको फिल्ड युनिट बसेको छ । तर दुवै कार्यालयको अवस्था उस्तै छ । आफूहरूले सवारी साधन मर्मत गरेर सञ्चालन गर्न खोजे पनि सफल हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालय धनकुटाका प्रमुख थिरेन्द्र दाहालले गुनासो गरे ।
कार्यालय परिसरमा अहिले विभिन्न कम्पनीका दर्जनभन्दा बढी मोटरसाइकल, निशान कम्पनीको एउटा पिकअप, दराज, कुर्सी टेबललगायत करोडौं मूल्यबराबरका सामग्री बेवारिशे अवस्थामा रहेका छन् । सवारी साधनसहित अन्य कतिपय सामग्री धुलो र हिलोले पुरिसकेको छ भने कतिपयमा माकुराको जालोले घेरिसकेको छ । जिल्ला समन्वय समितिको संयोजनमा यस्ता सामग्री अन्य कार्यालयलाई हस्तान्तरण गर्न सकिने प्रावधान छ ।
यता, जिल्ला समन्वय समिति धनकुटाका सभापति टङ्क चौहान भने पुरानो जिल्ला प्राविधिक कार्यालयले पूर्वाधार विकास कार्यालयलाई ती सवारी साधन हस्तान्तरण गर्ने तयारी गरिरहेको बताउँछन् ।
तर कार्यालय समायोजन भएको लामो समय बितिसक्दा पनि सामग्री भने हस्तान्तण हुन सकेको छैन । तत्कालीन जिल्ला प्राविधिक कार्यालय धनकुटाका इञ्जिनियर दीपनारायण शाहले भने जिम्मा दिन तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जिम्मा लिन चासो नदिएका कारण हस्तान्तरण हुन नसकेको जानकारी दिए ।
समयमै ती सामान हस्तान्तरण हुन नसक्दा करोडौं मूल्य बराबरको सरकारी सम्पत्ति बेवारिशे झँै बनेको छ ।