बेलबारीः मोरङको केराबारी–९ भलुवामा बिहीबार कुबेरप्रसाद पोख्रेलको घरमा शुभ विवाह लेखिएका ब्यानर राखिएका थिए । राम्राराम्रा लुगा र गहना लगाएर विवाहमा पोख्रेलका छरछिमेकी तथा आफन्त नाचगानमा रमाइरहेका थिए ।
छोरीको विवाहमा जस्तै धेरै मान्छे गोडधुवासमेत बोकेर आइरहेका थिए । तर त्यो विवाह छोरीको नभई बुहारीको थियो । पोख्रेलले आफ्नी एकल बुहारीको आफ्नै घरबाट विवाह गरिदिएका छन् । बुहारी सुनिताको छोरीको झैँ गरेर पोख्रेल परिवारले विवाह गरिदिएको हो ।
कुबेरका एक्ला छोरा पुण्यप्रसादको २०६७ साल असार १४ गते २४ वर्षकोे उमेरमा निधन भएपछि एकल बनेकी सुनिता पोख्रेललाई छोरीको दर्जामा राखेर उनले विवाह गरिदिएका हुन् । छोराको मृत्यु भए पनि बुहारीले एक्लो महसुस नगरून् भनेर विवाह गरिदिएको कुबेरप्रसादले बताए । सुनिताको झापाको घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विवाह भएको छ ।
सुनिताका श्रीमान् पुण्यप्रसाद पोख्रेल घँघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए । बिरामी हजुरबालाई उपचार गर्न मोटरसाइकलमा लैजाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी श्रीमान्को निधन भएको थियो । उनको निधनपछि घरपरिवारको सल्लाहअनुसार विवाह गरिएको हो । सुनिता विराटनगरमा बसी छोरी केसिकालाई पढाउँदै एक बोर्डिङ स्कुलमा पढाउँदै थिइन् । छोरी केसिका अहिले १३ वर्षकी भएकी छिन् ।
‘दाजु बितेको पनि १० वर्ष भइसक्यो’, सुनिताकी नन्द निर्मलाले भनिन्, ‘भाउजूको नयाँ जीवनमा सफलता मिलोस् । भाउजूसँग हाम्रो कहिल्यै नराम्रो पनि भएन । उहाँसँगको सम्बन्ध अझ राम्रो होस् भनेर परिवारको सल्लाहले विवाह गरिएको हो ।’
सकारात्मक कामले महिला हिसा नियूनिकरणमा सहयोग पुग्ने केरावारीका वडा अध्यक्ष भुपतिन्द्रप्रताप मल्लले बताए । बुहारी पनि छोरी सरह हुन भन्ने सन्देश बिबाहले सन्देश दिएको दिएको उनको भनाइरहेको छ । बिबाहमा जनप्रतिनिधि स्थानिय नेताहरुको समेत सहभागिता रहेको थियो ।