धरानः प्रदेश नम्बर १ सरकारले पहिलो पटक धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्न लागेको छ ।

राष्ट्रिय स्तरमा दोस्रो पटक चलचित्र महोत्सव हुन लागेको हो । कात्तिक २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने महोत्सवको तयारी तीव्र रूपमा भइरहेको प्रदेश सरकारले जनाएको छ । महोत्सवलाई सम्पन्न गर्न सुनसरी उद्योग वाणिज्य सङ्घमा सचिवालय समेत स्थापना भएको छ । महोत्सवमा देश र विदेशका गरी १८ ओटा नेपाली र ३ ओटा स्वीस चलचित्र प्रदर्शनी हुने भएका छन् ।

प्रदेश सरकारको आयोजनामा हुने महोत्सवको सह–आयोजकमा धरान उपमहानगरपालिका रहनेछ भने स्वीस विकास नियोगले समेत सहयोग गरेको छ । धरान सभागृहमा आयोजना हुने महोत्सव अवधिभर प्रदर्शन हुने चलचित्र निःशुल्क हेर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले महोत्सवले कला, संस्कृतिको जगेर्ना गर्ने बताए । उनले प्रदेश नं. १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताए । महोत्सवका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उनले भने, ‘हिम्मतका साथ काम गरिरहेका छौं, ३० लाख बजेट छुट्याएका छौं, त्यतिले पनि नपुगे थप पनि गर्न तयार छौँ ।’ महोत्सव धरानको इज्जत र प्रतिष्ठासँग जोडिएकाले महोत्सवलाई सफल पार्न धरानबासीलाई सक्दो सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले धरानको प्रतिष्ठासँग जोडिएको महोत्सव भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महोत्सवमा आर्टिष्टिक किसिमका चलचित्र प्रदर्शन हुने भएका छन् । महोत्सव हुनुभन्दा करीब १ हप्ता अगाडिदेखि नै चलचित्रको प्रचारप्रसार र गतिविधिलाई तीव्रता पारिने आयोजकले जनाएको छ । धरानमा हुने चलचित्र महोत्सवका लागि विभिन्न समिति गठन भइसकेको छ । चलचित्र महोत्सवको तयारीका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्देशक समिति बनाइएको प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।