सङ्खुवासभाः आगामी मंसिर १४ गते हुन लागेको उप निर्वाचनका लागि सङ्खुवासभाका मुख्य दुई राजनैतिक दलले उम्मेद्वारको टुङ्गो लगाएका छन् । नेपाली काङ्ग्रेस सङ्खुवासभाले शनिबार नै उम्मेद्वारको टुङगो लगाएको थियो भने नेकपा सङ्खुवासभाले आइतबार एक पत्रकार सम्मेलन गर्दै उम्मेद्वार सार्वजनिक गरेको हो ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले उम्मेदवारको नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो । प्रदेश कमिटीबाट प्राप्त नामलाई नेकपा सङ्खुवासभाले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

काङ्ग्रेसले मकालु गाउँपालिका अध्यक्षको लागि बिमन पराजुलीलाई उम्मेद्वार बनाएको छ भने नेकपाले तेजबहादुर पोख्रेललाई उम्मेद्वार बनाएको छ । यता रिक्त रहेको खाँदबारी नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा नेपाली काङ्ग्रेसले विक्रम गुरुङलाई उम्मेद्वार बनाएको छ भने नेकपाले भरतकुमार घिमिरेलाई उम्मेद्वार बनाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता छन् ।

यसअघि ती दुवै स्थानमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका थिए । मकालु गाउँपालिकाका तत्कालीन अध्यक्ष खड्गबहादुर कट्वालको २०७४ पुस ३० गते सवारी दुर्घटनामा मृत्यु भएको थियो भने खाँदबारी–३ का तत्कालीन अध्यक्ष तोयानाथ ढुङ्गानाको २०७५ फागुन १३ गते मृत्यु भएको थियो । जिल्लामा यसअघि भएको स्थानीय तह निर्वाचनमा १९ ओटा दलले भाग लिएका थिए ।

sankhuwasava election  (1)