धरानः नजिकिँदै गरेको उपनिर्वाचनलाई लक्षित गर्दै धरानमा दुुइ ठुलापाटी नेकपा र काँग्रेसले चुनावी अभियानलाई तीव्रता दिएका छन् । मुख्य प्रतिस्पर्धी मानिएका यी दलका उम्मेद्धवारले धरान आसपासका ग्रामीण भेगमा पुगेर  घरदैलो गरिरहेका छन् भने धान काट्न व्यस्त मतदाताका खेतखेतमा पुगेर भोट मागिरहेका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धरान उप महानगरपालिका मेयरको उम्मेदवार बनेका नेपाली काँग्रेस धरानका सभापति तिलक राई पुनः मेयर पदमा भिडेका छन् । उनले अघिल्लो चुनावमा आफुुले बेहोर्नुपरेको पराजयबाट पाठ सिक्दै जनताको घरदैलोमा पुगिरहेको बताए ।

‘त्यो बेलाको चुनावमा म परिपक्व थिइन होला, तर आजसम्म आइपुग्दा म धराने जनताको अभिभावक बन्न लायक बनेको छु, यो पटक पक्कै मत दिई विजयी बनाउनुहुनेछ भन्ने विश्वास छ ।’ उनले भने ।

राईले अघिल्लो निर्वाचनमा आफुले थोरै मतले मात्र हारेको भन्दै प्रत्येक वडामा २ सय देखि ३ सय सम्म मत बढाउने कोसिस जारी रहेको जानकारी दिए ।

Tilak Rai

यता नेकपाका उम्मेदवार प्रकाश राईले भने कम्युनिस्टको गढमा अरू दलले जित्ने सम्भावनै नभएको तर्क गर्छन् । ‘यो क्षेत्र कुनै बेला कम्युनिस्ट नेता मनमोहनको क्षेत्र हो, यहाँबाट अरू दलले जित्ने अवस्थै छैन ।’ राईले आफु र आफ्नो टिम उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएको भन्दै दुइ पाटी एक भएपछि पूर्व माओवादी र पूर्व एमालेको सोचअनुसार पार्टीलाई लिएर जाने र सोहीअनुसार नगरको विकास गर्नेमा आफु प्रतिबद्ध भएको जानकारी दिए ।

prakas rai

निर्वाचन आयोगले ५२ पदका लागि मङ्सिर १४ गते हुने निर्वाचन गर्दैछ । पछिल्लो स्थानीय तहको निर्वाचनमा धरानबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार तारा सुब्बा मेयरमा निर्वाचित भएका थिए । उनले प्रत्याशी उम्मेदवार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछाडि पार्दै २० हजार ९ सय ७५ मत ल्याई विजयी बनेका थिए । तर सुब्बाको गत साल साउनमा मृत्युभएपछि धरानको मेयर पद खालि थियो ।

dharan
त्यस्तै मेयर पदसँगै धरान ७ को वडा अध्यक्ष पदका लागि समेत प्रतिस्पर्धा हुँदैछ । तर, दुबै दलले उक्त पदका लागि उम्मेदवार तय गरिसकेका भने छैनन् । एमालेबाट उम्मेदवार बनी निर्वाचित भएका तत्कालीन अध्यक्ष भुवन मोक्तानको समेत रोगका कारण मृत्यु भएको थियो ।
पछिल्लो निर्वाचनमा धरानमा कुल ७९ हजार २ सय ८२ मतदाता रहेकोमा उपनिर्वाचनका लागि भएको मतदाता नामावली सङ्कलनमा थप १३ हजार मतदाता थपिएको निर्वाचन कार्यालयको तथ्याङ्क छ ।