विराटनगरः प्रदेश एक सरकारले पत्रकार असुरक्षित हुने वातावरण सृजना हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । फ्रिडम फोरमले विराटनगरमा गरेको पत्रकार सुरक्षा र दण्डहीनता विषय कार्यक्रममा सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानुन मन्त्री हिक्मत कुमार कार्कीले संचारकर्मीलाई निर्धक्क भएर काम गर्न आग्रह गरे । पत्रकार समाजको एेना रहेको भन्दै उसकाे रक्षाको जिम्मेवारी राज्यकाे दायित्व भएको कार्कीको भनाइ छ ।

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि प्रेस स्वतन्त्रलाई हनन हुने र दण्डहीनतालाई प्रशय दिने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पत्रकार महासङ्घ प्रदेश एकका महासचिव विवेक गौतमले २०७५ सलाभरी देशभर प्रेस स्वतन्त्रता हननका ६० ओटा घटना मध्ये प्रदेश एकमा मात्र १० ओटा घटना भएको जानकारी दिए । जसमा स्थानीय जनप्रतिनिधिका कारण पत्रकारलाई सुरक्षा थ्रेट बढिरहेको भन्दै महासङ्घको ध्यानाकर्षण भएको जानकारी गराइयो ।

फ्रिडम फोरमका संस्थापक तारानाथ दाहालले लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता रहेको भन्दै तीनै तहका सरकारले यसको रक्षा गर्नुपर्ने दायित्व रहेको औँल्याए । कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेल, मोरङ कार्यसमिति अध्यक्ष बन्धु पोख्रेल लगायतले बोलेका थिए ।