विराटनगरः पत्रकारकै नेताले पार्टीगत लिगेसीका कारण स्थानीय सरकारको बारेमा बोल्न नसकिरहेको बताएका छन् । फ्रिडम फोरमले विराटनगरमा गरेको पत्रकार सुरक्षा र दण्डहीनता विषय कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले विभिन्न लोभले गर्दा पत्रकार बोल्न नसकिरहेको बताए ।

‘प्रेस संयोजक राख्ने, डकुमेन्ट्री दिने, विज्ञापन दिने काम भइरहेको छ ।’ लुइँटेलले थपे ‘यी लगायतका लोभ लालचाले गर्दा स्थानीय सरकारका बारेमा कमजोरी खालका समाचार आउँदैन, पत्रकारलाई थ्रेट पनि हुँदैन ।’

उनले यो समस्या ठाउँ विशेषमा मात्र नभएको भन्दै झापादेखि कञ्चनपुरसम्ममा उही समस्या देखेको दाबी गरे ।

समितिका महासचिव विवेक गौतमले प्रदेश एकमा भएका विभिन्न घटनालाई नियाल्दा स्थानीय जनप्रतिनिधिबाट बढी प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको उल्लेख गरे ।

पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोख्रेलले संचारकर्मीलाई सुरक्षाको प्रत्याभूति दिने काम राज्यको भएको भन्दै ध्यानाकर्षण गराए । अग्रज पत्रकार एवंम फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले भने लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता रहेको भन्दै तीनै तहका सरकारलाई यसको रक्षाको जिम्मेवारी रहेको तर्क गरे ।

कार्यक्रम प्रदेश एक सरकारका प्रवक्ता हिक्मत कार्की र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रेस स्वतन्त्रता उल्लङ्घन हुन र दण्डहीनतालाई प्रशय दिने काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासँघकाे तथ्यांकअनुसार गत २०७५ सालभरी प्रेस स्वतन्त्रताका विरूद्द ६० घटना भएका छन् । जसमा प्रदेश एकमा त्यस्ता १० घटना  भएका हुन् ।