विराटनगरः प्रदेश एक सरकार, संसदमा हाबी हुने गरेको विपक्षी दलले गुनासो गरेको छ । आज विराटनगरमा फ्रिडम फोरमले गरेको खुल्ला संसद छलफल कार्यक्रममा बोल्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले व्यवस्थापिकाको अधिकार क्षेत्रमा कार्यपालिकाको हस्तक्षेप कानुन संसदीय अभ्यासअनुकुल नभएको तर्क गरेका हुन् ।

‘कानुन हतारमा बनाउने नभई बृहत् छलफल गरेर बनाउनुपर्ने हो ।’ उनले भने । ‘तर, कहिलेकाही एकै दिनमा विधेयक पास गर्न खाेजिन्छ ।’ कार्कीले हतारमा विधेयक पास गर्न खोजे त्यसले संसद र जनतालाई उपहास गर्न खोजिएको अर्थ लाग्ने बताए । 'कानुन बनाउँदा त्यसले दीर्घकालिन अवस्थासम्म पुग्ने असरका बारेमा ख्याल गर्नुपर्छ, बृहत बहस र छलफल हुनुपर्छ, तर हाम्राेमा सुटुक्क पास गरिहालाैँ भन्ने साेचाइ छ ।' उनले भने । 

संसद्को अधिकार क्षेत्रमा सरकारले सिधै हस्तक्षेप गर्ने कुरा खुल्ला संसद्को मर्म विपरीत भएको उनकाे भनाइ छ ।

उपसभामुुख सरस्वती पोख्रेलले कानुन निर्माणको चरणमा संचारकर्मीको जस्तै नागरिक समाज र कानुन व्यवसायीले पनि निगरानी गर्दिनुपर्ने भनाइ राखिन् ।

फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले जनताले चुनेका कानुन निर्माताहरुको काम जनताका लागि सधैँ खुल्ला हुनुपर्ने विचार व्यक्त गरे । 'हामी जे गर्छाैं त्याे जनतालाइ लुकाएर हाेइन, देखाएर गर्ने हाे' उनले भने  'जति खुल्ला हुन सक्याे उति नै जनताकाे सहभागीता बढ्दै जान्छ।'

छलफल कार्यक्रममा प्रदेश एक संसद्को नियमित रिपोर्टङ गर्ने पत्रकारहरुले आफ्नाे अनुभव सुनाएका थिए ।