इटहरीः निर्माणाधीन रानी–धरान ६ लेन सडक अन्तर्गत इटहरी खण्डमा सडक निर्माणको विषयमा विवाद उठ्न थालेपछि आयोजनाले स्पष्टीकरण दिएको छ । आज इटहरी उप महानगरपालिका कार्यालयमा नागरिक समाजको अगुवाइमा भएकाे पत्रकार सम्मेलनमा, आयोजनाका इन्जिनियर रमेश कुमार गोइतले इटहरीको मुख्य चौकदेखि उत्तर तरहरासम्म ४० मिटर चाैडा र इटहरी चौकदेखि विराटनगर रानी भन्सार नजिकसम्म ३० मिटर चौडाको बाटो बन्ने गरी २०६७ सालमा डिपिआर बनेको जानकारी दिए ।
अहिले इटहरी चौकमा सडक साँघुरो बनाएको भन्दै विरोध भइरहेको छ । आयोजनाले भने बिच भागबाट दायाँ र बायाँ २०, २० मिटर मात्र कायम गरेको छ । तर, सडकको भाग २५,२५ मिटर रहेको छ । जहाँ बाँकी ५, ५ मिटर क्षेत्रमा भने सडक ओगटेर घर बनाएका छन् ।
अहिले नै २५, २५ मिटर खाली गराउँदा धेरैका घर भत्किने र आयोजनालाई असर पुग्ने भन्दै २०, २० मिटर सडक चौडा गरी काम सक्ने र सडक विभागले ढिलो चाँडो बाँकी ५, ५ मिटर भाग पनि आफ्नो पक्षमा लिने इन्जिनियर गोइतले जानकारी दिए ।
२०६८⁄०६९ को आर्थिक वर्षबाट सुरु भएको रानी धरान ६लेन सडकको जम्मा लम्बाइ ४९ किलोमिटर रहेको छ । भारतको जोगवनी र चिनको किमाथाँका क्षेत्र जोड्ने यो सडक त्रिदेशीय महत्त्वको हो ।
रानी देखि धरान सम्म ६लेन सडक बनाउन १० अर्व बजेट छुट्एिकोमा अहिले ७ अर्वको मात्र ठेक्का लागेको गोइतले प्रदेश पोर्टललाई जानकारी दिए । जसमा १५ निर्माण कम्पनीले धमाधम काम गर्दैछन् । इटहरीको तरहरा देखि धरानको तीनकुनेसम्म डिपिआर तयार भएको छ । जसमा चारकोसे झाडीमा १४ सय रुख काट्ने अनुमति परियोजनाले लिइसकेको छ ।
तर, धरानको तीन कुने देखि जीरोप्वाइन्टसम्म भने विवादका कारण डिपिआर नै बन्न सकेको छैन ।
अहिले ठेक्का लागेका कम्पनीले भने आउँदो असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्नेछ ।