सुनसरीः वर्षभरि काम गरे पनि धान थन्क्याउने सिजनमा भने किसानले उचित मुल्य पाउन सकेका छैनन् । वर्षौँदेखि उही समस्या भोगिरहेका सुनसरीका किसानको यो वर्ष पनि उस्तै दुखेसो रह्यो ।
अहिले सुनसरीका विभिन्न स्थानमा किसानलाई धान थन्क्याउन भ्याई नभ्याई छ । तर, धान किन्ने व्यापारीले कम मूल्य दिएपछि लगानी उठ्नै धौँधौँ परेको किसानको गुनासो छ । इटहरी स्थित भुर्कीका किसान विष्णु चौधरी भन्छन् ‘जति मेहनत गरे पनि धान उठाउने सिजनमा व्यापारीले भनेको मूल्यमा धान दिनुपर्छ, लगाएको खर्च उठाउनै मुस्किल छ ।’
सिजनमा उत्पादन हुने ठुलो परिमाणको धान थन्क्याउन भण्डारणको अभाव छ । किसानले खेतैबाट थ्रेसर लगाएर सिधै कि त मिलमा कि त बिचौलियालाई धान बेच्छन् । पछि सोही धान किन्न परे बढी मूल्य तीर्न बाध्य हुन्छन् यहाँका किसान । ‘अहिले कहाँ राखौँ यत्रो धान, बेच्नैपर्यो ।’ अर्का किसान विन्देश्वर सरदारले भने ‘आफूलाई चाहिएको बेलात्यहि व्यपारीकाेमा किन्न गयो बढी मूल्य हाल्न बाध्य हुनुपर्छ ।’
यो समस्या एक वर्षको मात्र होइन । हरेक वर्ष उही समस्याबाट आजित किसानले सरकारले कृषकको पक्षमा काम नगरेको गुनासो गर्छन् । ‘रोप्ने बेलामा न मल बीउ पर्याप्त हुन्छ, रोप्नेदेखि उत्पादन गरेर बेच्नै समस्या छ यो धान खेतीमा ।’ सरदारले गुनासो गरे ।
अहिले मुस्किलले ५ देखि ७ सय प्रतिमन धानको मूल्य छ । खेतीको सिजनमा मल, बीउको अभाव त छ नै धान थन्क्याउने बेलामा समेत सरकारले तोकेको मुुल्यमा किसानले धान बेच्न नपाउँदा धान खेतीतर्फ किसानको आकर्षण घट्दो छ । एकातर्फ धान खेत घडेरीमा परिणत भइरहँदा उत्पादनमा परनिर्भरता बढ्दो छ भने किसानलाई सरकारले उचित सहुलियत नदिँदा आन्तरिक उत्पादन वर्षेनी घट्दै गइरहेको छ ।
प्रदेश एक कृषि विकास निर्देशनालयको आँकडाअनुसार सुनसरीमा मात्र ५५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सरकारले धानकाे मुल्य ताेकेकाे छ । कात्तीक ५ गतेकाे मन्त्रीपरिषद बैठकले माेटा धानकाे प्रति क्वीन्टल २ हजार ५ सय ३२ रूपैँयाँ र मध्यमकाे २ हजार ६ सय रूपैँया ताेकेकाे थियाे ।
तर, साे मुल्यअनुसार किसानले भाउ पाएका छैनन । उनिहरूले सरकारले वेवास्ता गरेकाे गुनासाे गरेका छन् ।