इटहरीः भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि झापाबाट पर्यटन जनजागरण अभियान शुरु गरिएको छ । शनिबारबाट थालिएको अभियानमा झापाका २७ जना युवा सहभागी भएका छन् । पर्यटन प्रबद्र्धनका लागि झापाबाट जनजागरण अभियान–२०७६ शुरु गरिएको हो ।

अभियानमा युवा व्यवसायी, राजनीतिकर्मी, पत्रकार सहभागी छन् । अभियान हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्ने अभियानमा सहभागी राजु पोख्रेलले बताए । सो टोलीलाई प्रदेश सांसद् श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, मेचीनगरका नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, डीएसपी गोविन्द कार्की, समाजसेवी बृहस्पति खतिवडा लगायतले शुभकामना सहित बिदाइ गरेका थिए ।

झापा र इलामको सीमाक्षेत्र मेचीनगर–३ र रोङ गाउँपालिका–५ को बेंसीबजारबाट बिहान ८ बजे पैदलयात्रामा निस्किएको टोली साँझ ५ बजे कुटीडाँडास्थित हाँसपोखरी पुगेको थियो । भ्रमण वर्षलाई सफल बनाउन योगदान गर्ने गरी सम्भावना समेत खोजी गर्दै पहिलो दिनको अभियान सम्पन्न गरिएको टोलीको नेतृत्व गरेका डिल्लीराम घिमिरेले बताए ।

आउँदो महिनाको अन्तिम शनिबार नेपाल–भारतको सीमा क्षेत्रमा जनजागरण अभियान सञ्चालन गरिने नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यले बताए ।

padyatra  (1) padyatra  (3)