विराटनगरः इटहरीमा निर्माण सुरु भएको रानी धरान ६लेन सडक खण्डको विवादको विषय प्रदेश सरकार समक्ष पुगेको छ । सडक निर्माणमा एकरूपता नभएको भन्दै बनेको सङ्घर्ष समितिले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गर्दै निर्माण कार्यको बारेमा जानकारी दिएकाे छ।
समितिका संयोजक मदन चुुँडालले मन्त्री राईलाई आयोजनाको काम माथि शङ्का उब्जिएको भन्दै ज्ञापन पत्र बुझाए । उनले लामो समय स्थगित भएर निर्माण सुरु भएको सडकको चौडाइ घटाइएको भन्दै दीर्घकालीन रूपमा असर पुग्ने जिकिर गरे ।
‘त्रिदेशीय महत्त्वको व्यापारिक सडकलाई साँघुरो बनाउने काम भएको छ ।’ उनले भने ‘यो राष्ट्रिय महत्त्वको आयोजनाबारे तीनै तहका सरकार गम्भीर नभएको पाइयो ।’
समितिका सह संयोजक होमनाथ धमलाले ५० मिटर राजमार्गको क्षेत्राधिकार भए पनि ४० मिटरमा मात्र सडक बनाइँदा यात्रु हिँड्ने सर्भिस लेन नै नहुने भन्दै सीमित व्यक्तिको कब्जामा आयोजनाले सडक बनाइरहेको तर्क गरे ।
समितिका सदस्य सागर सुवेदीले सडक आयोजनाको कमप्रति शङ्का उब्जिएको भन्दै प्रदेश सरकाले गम्भीरताका साथ छानबिन गर्न माग गरे । अर्का सदस्य नवराज सुवेदीले भने इटहरीको भाग्य र भविष्यसँग जोडिएको विषयलाई सरोकारवालाहरूले खासै वास्ता नदिएको भन्दै प्रदेश सरकार चनाखो बनिदिन आग्रह गरे ।
जवाफमा मुख्यमन्त्री राईले आफुले आजै देखि यस आयोजनाको काम बारे जानकारी लिने आवश्वसन दिए । ‘६ लेन सडकको बारेमा पहिल्यै नै डिपिआरदेखि गलत भएको देखियो ।’ उनले भने ‘इटहरी क्षेत्रको सडक निर्माण बारे आयोजनासँग तुरुन्त जवाफ माग्छु । बुझ्ने प्रयास गर्छु ।’