इलाम । सन्ततीका लागि अभिलेखिकरण हुने खालका साहित्य तथा लेख लेख्नुपर्नेमा इलाममा आयोजित साहित्य विर्मशका कार्यक्रमका बक्ताहरुले बताएका छन् । सूर्योदय नगर पर्यटन महोत्सवको अवसरमा पर्यटकिय क्षेत्र कन्यामको निर्माणधिन शान्ति पार्कमा आयोजित कार्यक्रमको प्यानल डिस्कनमा बोल्दै पत्रकार मोहन मैनाली र सिर्जनशिल अराजकताका अभियन्ता साहित्यकार हाङयुग अज्ञातले लेख, रचना र साहित्य बाहिरको भन्दा भूगोलभित्र बसोबास गरेको भाषी, जाति र यस क्षेत्रको समाज र प्राकृतिक सम्पदाको विषयमा लेख्दा त्यसले मुर्त रुपमा लिने बताए । पत्रकार केदार शर्माले ‘आजको साहित्य कस्तो रहनुपर्छ’ भनी एक घण्टा लामो चलाएको विर्मशमा वक्ता मैनालीले आउने सन्ततीका लागि अभिलेखिकरण हुने खालका साहित्य तथा लेख लेख्दा त्यसले एउटा गतिलो इतिहास रहने बताउँदै आफू पत्रकार मात्र भएको साहित्यकार हुन नसकेको बताए ।
पत्रकारितामा क्रममा देशका विभिन्न भाग र राजनितिक पद्धतीमा महसुस भएका घटना पत्रकारका हिसाबले हेर्दा त्यसले पुस्तकको आकार लिएकाले आफु साहित्यकार नभएको मैनालीको भनाई थियो । अर्को बक्ता हाङयुग अज्ञातले युग बुझाउने साहित्य नै नियात्रा भएको बताउँदै एकले अर्को समाजको अध्ययनले मात्र साहित्यले समाजको भाषा बोल्ने बताए । दुवै साहित्यकारलाई आउने सन्ततिले कस्ता साहित्य उठाउन् जस्तो लाग्छ भनी गरिएको प्रश्नमा हाङयुगले भने, ‘साहित्यको रेखा हुँदैन । यसको बाटो हुँदैन ।’ अर्का वक्ता मैनालीले भने, ‘लेखिएका हरेक पाटाहरु सन्ततिका लागि गतिलो अभिलेख हुन्छ, त्यसैलाई साहित्य ठानिन्छ । आउँदै गरेका सन्ततिले देखेका कुराहरु शैलीवद्ध लेख्न सके भने त्यो नै साहित्य हुन ।’
शर्माले आगामी पुस्तकको बारेमा राखेको जिज्ञासालाई स्पष्ट पार्दै मैनालीले भने, ‘आउने लेख मेरो तम्मर नदीका किनारमा जीवन जीउँदै बसेका बासीहरुको कथा व्यथा रहनेछ । घुन्सादेखी सप्तकोशी नपुगुन्जेलसम्म त्यहाँ किनारको बस्तीको परिवेश नै नयाँ पुस्तकका कथा हुन ।’ प्यानल डिस्कसन अघि एक घण्टा लामो ‘समाज र साहित्य’ बिषयमा बोल्दै युवा साहित्यकार मुनाराज शेर्माले साहित्यले निर्देश गरेको शव्द राजनितिक क्षेत्रले बुझ्न नसक्दा विकासका बाटोहरु पहिल्याउन समस्या बताए । मानव सभ्यतालाई समाजको ऐनाको रुपमा देखाउने साहित्य क्षेत्रको बाटो दुरदर्शी हुने हुँदा राजनीतिले त्यसलाई बुझ्नु पर्नेमा उनले जोड दिए । 
शेर्माले नेपालमा लेखिएका साहित्य एक जाति विषेशको बढी भएको हुँदा सर्वजातिको भावना र त्यसका संस्कृतिसँगै मिथकहरुलाई पनि राज्यले उजागर गर्न सहयोग गर्नुपर्ने बताए । ‘परिवर्तनको पाइलामा साहित्यको भावले जनमानसलाई सचेत गराउँदै राजनीतिलाई साथ दिइरहेको हुन्छ, त्यो कुरा जननिर्वाचित प्रतिनिधिले बुझ्न जरुरी छ ।’ शेर्माले भने । रोम सहर जलिरहेको बेला तत्कालिन शासकले मुरली बजाएको सन्र्दभ उल्लेख गर्दै शेर्माले राजनितीले ध्वस्त पारेको संसारलाई कलाले मात्र सिर्गान सक्ने बताए । हिजोको एकतात्मक प्रणाली अन्त्यका लागी साहित्यका शव्दहरु गाँउका कुना कन्दरामा पुगेका कारण आज संघियता अभ्यास सुरु भएको उनको भनाई थियो । प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सूर्योद नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले साहित्यका विषयमा आफ्ना भनाइ राखेकी थिइन । कार्यक्रममा इलाम, झापा र पाँचथरका एक दर्जन बढी कवि र सर्जकहरुले आफनो रचना प्रस्तुत गरेका थिए । 
 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        