इटहरीः महिला आधारशिलाकी अध्यक्ष रेणु शर्मा उप्रेती रमेश विकल सुशिला संघर्षशिल नारीसेवा पुरस्कार २०७६ बाट सम्मानित भएकी छन् । शनिवार काठमाण्डौंमा रमेश विकल साहित्य प्रष्ठिानद्धारा आयोजित कार्यक्रममा उनलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले नगद सहित सो पुरस्कार प्रदान गरेका हुन् ।
लामो समयदेखि सामाजिक एव्म मानव अधिकार क्षेत्रमा क्रियाशिलरहि सार्थक भूमिका खेल्दै आएकी शर्मालाई महिला आधारशिला संस्थाको स्थापना गरि हिंसामा परेका तथा असाहाय महिला र बालबालिको संरक्षण, पालपोषण, शिक्षा दिक्षा लगायतका कार्यमा उल्लेख्य योगदान गरेवापत सो पुरस्कार प्रदान गरिएको हो । शर्मालाई नगद,दोसल्ला सहित सम्मानपत्रले जोशीले सम्मान गरेका थिए ।
शर्मासंगै सोही प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार एवं पत्रकार भैरव रिसाललाई प्रदान गरियो । रमेश विकल सुशीला समाज सेवा पुरस्कार समाजसेवी सुदर्शन सिग्देल,रमेश विकल सृजना पुरस्कार किशोर पहाडी, रमेश विकल बालसाहित्य पुरस्कार प्रा डाक्टर ध्रुव घिमिरे र रमेश विकल सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गर्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शताब्दी पुरुष जोशीले रमेश विकल नेपाली आख्यानका महान व्यक्तित्व भएको बताए । ‘अविरल बग्दछ इद्रावती’ उपन्यास हिमाली साहित्य मध्येको सबैभन्दा उत्कृष्ट मौलिक कृति भएको उनले सुनाए ।

नेपाल कला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विकल कलमका मात्र नभएर कलामा पनि त्यत्तिकै सशक्त हस्ताक्षर भएकाले उहाँको कलाकार व्यक्तित्वका बारेमा अध्ययन हुनु जरुरी रहेको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली आख्यानका विशिष्ट प्रतिभा विकलका साहित्यले नेपाली समाजको रूपान्तरणमा समेत महत्वपूर्ण योगदान गरेको बताए ।

प्रतिष्ठानका सदस्य हेमनाथ पौडेलले विकल नेपाली साहित्यमा आख्यान विधाका अमर प्रतिभा भएको बताए । विसं २०६३ मा प्रतिष्ठान स्थापना भएदेखि प्रत्येक वर्ष पुरस्कार वितरण हुँदै आएको महासचिव एवं विकलका ज्येष्ठ सुपुत्र तथा वरिष्ठ पत्रकार विजलय चालिसेले बताए ।