इटहरी: इटहरीकी रीत अधिकारीलाई लाग्थ्यो छोरी साथीहरू जस्ती चलाख भइन । सामाजिक सञ्जालतर्फ उसको ध्यानै छैन । यस्तो लाग्दै गर्दा कतै छोरी अरूभन्दा पछि पर्छे की, सुस्त हुन्छेकी भन्ने सोचिरहन्थिन् । त्यसैले उनले बल गरेर छोरीलाई फेसबुकमा पाइला राख्न आफैँ एकाउन्ट खोजिदिइन् । चिनेका मान्छेसँग मात्र बोल्न, अरूसँग नबोल्नु । काम लाग्ने कुरा मात्र हेर्नु भनिन् ।
बिस्तारै छोरीले सामाजिक सँजालनमा पाइला त राखिन् तर, अहिले आमा रितालाई छोरीको लात देखेर हैरान भएको छ । ‘पहिले आफैँले सिकाएँ, अहिले बित्थामा सिकाएछु नि जस्तो भइरहेको छ ।’ स्मार्ट फोनले हाम्रो दैनिक जीवनमा पार्ने प्रभाव र यसको असरका विषयमा इटहरीको युवा विकास केन्द्रमा भएको छलफलमा सहभागी भएकाहरूले आ– आफ्नो समस्या खुलेर सुनाए । यस्तै समस्या सुनाउनेमा थिइन् दुहबीकी नेहा अग्रहरी । उनका भाइको नजान्दो गेमको लतले पढाइ त बिग्रियो बिग्रियो साथीको घरमै बसेर घण्टौँ गेम खेल्दा उनीहरूको शारीरिक समस्या पनि देखिन थाल्यो । ‘पढाइ र अन्य खेलमा मन जान छाडेपछि घरमा मोबाइल खोस्दा पनि समस्या टरेन’ उनले भनिन्, ‘अहिले साथीकै घरमा बसेर लामो समय गेम खेल्छन्, अब के गरूँ ?’

IMG20200111122055
यस्ता समस्याको समाधान खोज्दै थिए उनीहरूकै उमेर समूहका युवा रिदम शाह । कुनै समय पव्जि गेमको लतमा फसेका शाह २०१८ का उत्कृष्ट टिनेज युवा प्रतिभाबाट सम्मानित भएका युवा हुन् । आफ्नो अनुभव सहित लामो अनुसन्धानबाट हासिल गरेको ज्ञान आफुु जस्तै साथी र उनीहरूका अभिभावकलाई साट्न उनी पूर्वका विभिन्न विद्यालय एवंम कलेज पुग्ने गरेका छन् । उनको निष्कर्ष छ ‘स्मार्ट फोनको सही सदुपयोग भएको छैन, यो मोर्डन युगको रक्सी भइसक्यो ।’
लतमा नपर्न र परे पनि चाँडै उन्मुक्ति लिइहाल्न उनको सुझाव छ । यसले पढाइ, शारीरिक र मानसिक असर गर्ने प्रमाणित भएको बताउँदै शाहले भने ‘हामीले बेलैमा सचेत भइएन भने हाम्रो नयाँ पुस्ताप्रतिको आशा हराएर जान्छ, यसमा विद्यालयमा शिक्षक र घरमा अभिभावक ठुलो हात छ ।’


युवा विकास केन्द्रले युवा लक्षित विभिन्न कार्यक्रमको आयोजना गर्छ । संस्थाका अध्यक्ष सञ्जय चौधरीले युवा पुस्तालाई आवश्यकता महसुस गरेरै स्मार्ट फोन प्रयोगको बारे सेसन चलाइएको हो । पहिलो पटक युवा विकास केन्द्रमा राखिएको यो नौलो कार्यक्रमको प्रभावकारिताले अन्य यस्ता कार्यक्रम गर्न हौसला मिलेको बताए । ‘केन्द्रले पुनः यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ’ उनले भने, ‘स्मार्ट फोनको उपयोगिता र यसको सीमाको विषयमा शिक्षक र अभिभावकले नै पो बुझ्नुपर्ने देखियो ।’