इटहरीः चर्चित ३३ केजी सुन प्रकरणसँग जोडिएका १८ जना फरार प्रतिवादीको ठेगाना अदालतले नभेटेपछि सुनुवाईको प्रकृयामा अड्किएका कारण दुई बर्षसम्म रोकिएको मुद्धा बल्ल पेसी चढ्ने भएको छ । फरार आरोपीको म्याद तामेली गर्न मात्र अदालतलाई २० महिनाभन्दा बढी समय लागेको छ । १८ जनाको ठेगाना नभेटिएपछि अदालतले गोरखापत्र दैनिकमा ३५ दिने बेपत्ते सूचना निकालिएको छ । नेपाल प्रहरीका उच्च पदस्त अधिकारी समेत मुछिएको चर्चित ‘३३ केजी सुन प्रकरण मुद्धा’ ढिलो गरी उच्च अदालत विराटनगरले सुनुवाईको प्रकृया अघि बढाएको छ । ।
३ पुसमा जिल्ला न्यायाधीश मेधनीप्रसाद पौडेलको इजलासको आदेशपछि अदालतले १४ पुसमा म्याद तामेली नभएका १८ जनाको नाममा ३५ दिने सूचना जारी गरेको थियो । बाटोको म्याद सहित ६५ दिनको म्याद बुझ्नलाई समय दिइएको हो । सो अवधिमा म्याद नबुझे अब मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ । जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले बल्ल मुद्धाको पेसी चढ्ने प्रक्रियामा रहेको जानकारी दिए । अदालतलाई म्याद तामेली गर्न समय लागेका कारण सुन मुद्धाको पेसी चढ्न ढिलो भएको उनले बताए ।
यसै प्रकरणमा करेन्ट लगाई हत्या गरिएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको पनि दुई वर्ष पूरा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो तस्करीको सुन गायब भएपछि तस्करको समूहले सुन खोजी गर्ने क्रममा १७ फागुन २०७४ मा शाक्यको मोरङको उर्लाबारीमा रहेको जंगलमा हत्या गरी भोलिपल्ट शव विराटनगरमा ल्याएका थिए । शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको सञ्जाल पत्ता लागेको थियो । अनुसन्धानका क्रममा खुलेको सुन तस्करीको जालो भत्काएको दाबी गर्दै सरकारले ७५ जनालाई विपक्षी बनाएर २०७५ बैशाख १५ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर गरेको थियो ।

high-cort BRT
यस्तै गृह मन्त्रालयले तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिको सिफारिसपछि जिल्ला सरकारी वकिलको कार्यालयले दुई पुरक अभियोग सहित जम्मा ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । त्यसबाहेक समितिले तीन सय जनामाथि अनुसन्धान गर्नुपर्ने नामावलीसहित प्रधानमन्त्री कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो । तर समितिले सिफारिस गरेका माथि अनुसन्धान भएको छैन । प्रतिवेदन पनि गुपचुप राखिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा दायर गरिएको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अबैध रूपमा सुन आयात गरिएको दाबी गरिएको छ ।
अझै को–को छन् थुनामा ?
सुन तस्करी प्रकरणमा मुछिएका हाइप्रोफाइल अभियुक्तहरू धरौटीमा छुटिसकेका छन् । तर सुन तस्करी प्रकरणमा जोडिएका भरिया भने पूर्पक्षका लागि कारागारमै छन् । जिल्ला अदालतको आदेशपछि थुनामा रहेकाहरू मध्ये भरिया टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पा, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, गोपालकुमार श्रेष्ठ, भुजुङ गुरुङ, निलम्बित डिएसपी सञ्जयबहादुर राउत, महावीर गोल्यान, अमरमान डंगोल र तत्कालीन एसएसपी श्यामबहादुर खत्रीलगायत केही थुनामा छन् । पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल उच्च अदालतको आदेशपछि साधारण तारेखमा पूर्पक्ष गर्न पाउने गरी छुटेका थिए ।
सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटी छुटेका थिए । राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आरके भनिने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दार पनि उच्च अदालतको आदेशपछि जनही १० लाख धरौटीमा छुटेका थिए ।

gore