इटहरीः  १६ फागुनमा सुनसरी भोक्राह १ का १३ बर्षिय अजय मेहेताले आत्महत्या गर्ने प्रयास गरे । कारण थियो, बुवा मोहनलालले घरायसी बिषयमा गरेको गाली । उनले घरमा राखेको मुसा मार्ने औषधी सेवन गरिदिए । तत्कालै जिल्ला अस्पताल इनरुवामा उपचार सम्भव हुन नसकेपछि बिराट नर्सिङ होम पुराइयो । अजयको मुस्किलले ज्यान जोगियो ।
१६ फागुनमै सुनसरी देवानगंञ ४ का ३५ बर्षिय दिपक मेहेताले पनि आत्महत्याको प्रयास गरे । श्रीमतीसँगको विवादले उनले घरमै राखिएको फोरेट नाम गरेको बिषादी सेवन गरिदिए । मेहेतालाई पनि तत्कालै उपचारको लागि कोशी अस्पताल लगियो । अहिले उनि बोल्ने अबस्थामा छन् ।२१ फागुनमा पनि श्रीमानसँगको विवादले भोक्राह ५ की ३० बर्षीया देवि शर्माले पनि बिषादी सेवन गरि आत्महत्या गर्ने प्रयास गरेकी थिईन् ।
सुनसरी जिल्लामा बिबिध कारणले आत्महत्याको प्रयास गर्नेहरुको दर दैनिक बढ्दो छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो एक हप्ताको घटनाहरुको विवरण केलाउदा एकै दिन ५ जनाले सम्म बिष वा पासो लगाई आत्महत्या गर्ने कोशिस गरेको देखिन्छ । फागुन १५ देखि २१ गतेसम्मको घटना बिवरणले सुनसरीमा १४ जनाले आत्महत्याको प्रयास गरेको देखिन्छ । २१ फागुनमा मात्र ५ जनाले एकैदिन आत्महत्याको प्रयास गरेका थिए । प्रहरीको घटना विवरणले जिल्लामा औसत एक दिनमा एकदेखि दुईजना सम्मले आत्महत्याको कोशिस गर्ने गरेको देखाउँछ ।
घटना बिवरण अनुसार सुनसरीमा यो हप्ता मात्र ४ जनाले आत्महत्या गरिसकेको तंथ्याङक छ । आत्महत्या गर्नेहरुमा एक प्रेमी जोडी, एक जना बिदेशबाट फर्किएका युवा र एक पुरुष छन् । घटना बिवरण अनुसार आत्महत्याको कोशिस गर्नेहरुका कारण मिश्रित छन् । श्रीमान् श्रीमतीको विवाद, सामान्य गाली गरेको बिषयदेखि परिवारले प्रेम अस्वीकार गरेका बिषय सम्म छन् । संसारभर बढी आत्महत्या हुने मुलुकहरू मध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा बर्षेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको तीन वर्षको तथ्याङलाई हेर्दा प्रदेशमा आत्महत्या गर्नेको संख्या बढिरहेको देखिन्छ । प्रदेश एकमा ०७३–७४ मा जम्मा १ हजार ८९ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेको यो संख्या बढेर ०७४–७५ मा ११ सय ६९ पुगेको देखिन्छ । यो संख्या आव ०७५÷७६ मा झन बढेको देखिन्छ । ०७५–७६ मा आत्महत्याको संख्या बढेर १२ सय ३५ पुगेको छ ।
सुनसरीमा ७६–७७ को आर्थिक बर्षको मसिंरसम्म मात्र १ सय ३५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको संख्या बढी रहेको छ । सो अवधिमा ७२ जना महिलाले आत्महत्या गर्दा ६३ जना पुरुषले आत्महत्या गरेका छन् । उक्त अवधिमा २० वर्ष मुनिका १९ जनाले आत्महत्या गरेको तथ्याङक छ । औसतमा प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलाम जिल्लामा आत्महत्याका घटना यो आर्थिक बर्षमा बढेको अबस्था छ । आत्महत्याका घटना बढ्नुलाई प्रहरीले पारिवारिक कलह प्रमुख कारक ठानेको छ । घरायसी विवाद, झैझगडा, गरिबीसँगै अशिक्षा र चेतनाको कमीका कारण आत्महत्या गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल बताउँछन् ।
किन गर्छ आत्महत्या ?
उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी ल
ाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनता का कारणहरु हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गर्छ ।
त्यसैगरी रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण हो । केही मानिसहरु नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक समस्या निम्त्याउनुको साथै आर्थिकरुपमा कमजोर बनाउँछ र विस्तारै बाँच्ने रहरमा कमी हुदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ ।