म त्यही गर्विलो माटोमा
उभिएको छु
जहाँ सुनाखरी र राताम्यै लालीगुराँसले
स्वागत गरिरहेछन्
मेरो शिरमाथि साङ्खामचुली
सिलिचुङ, ट्याम्के अनि
चोमोलोङ्मा मुस्कुराइरहेछन्
हो, म त्यहीँ उभिएको छु
गर्वले छाती फुलाएर निश्चिन्त भई अडिएको छु
त्यही हतुवागढीको आलिङ्गनभरि
खेलिरहेको छु ।
कोरोना भाइरसको आतङ्क र चिसो मौसमको वास्ता नगरी भोजपुरको हतुवागढीमा भेला भएका कविहरूले आप्mना सुन्दर रचनाहरूका माध्यमबाट वातावरणलाई झनै रोमाञ्चक बनाए ।
भुइँकुहिरोले छपक्कै छोपेको हतुवागढीको पात्लेपानीमा देशभरिका कविहरूको गरिमामय उपस्थितिमाझ ‘म त्यहीँ छु’ शीर्षकको कविताबाट कवि अल्पभाषी निरुले ‘शब्द संगम –२०७६’ को ढोका खोलिन् । त्यसपछि अघि बढ्यो स्थानीय रचना वाचनको क्रम । उनीसँगै कृपालसिंह राई, अरुण आकाश, नमुना राई, पूर्ण सन्ध्या समाधी, नमुना राई, चन्द्र राई तारा, रुद्र राई, स्वस्तिका राईलगायतले रचना सुनाए ।
पात्लेपानी कला÷साहित्य प्रतिष्ठान हतुवागढी –८ ले आयोजना गरेको सो कार्यक्रममा कविता सुन्न र सुनाउन टाढा–टाढाबाट आएका स्रष्टाहरूको जमघटममा युद्धकवि काङमाङ नरेश राईको एकल कविता वाचन पनि सम्पन्न भयो । सो कार्यक्रममा कवि नरेशले नौवटा जति कविता सुनाए । उनले ‘आँशु जस्तै छ’ कविता सुनाउँदा हल चकमन्न भयो ।
आँखाबाट अविरल नदी बगाउँदै
आफ्ना थर्थराएका हातले
पूmलका माला लगाइदिँदै
उनी भन्छिन्–
जस्तो जाँदै हुनुहुन्छ
त्यस्तै फर्किनू युद्धबाट
थुप्रै छन् भन्नुपर्ने
तर, निस्कँदैनन् शब्दहरू
फुट्दैन बोली
निस्कन्छु क्वार्टरबाहिर
र ड्याम्म बन्द गर्छु बिदाइको ढोका ।
यो कविता सुनाइरहँदा स्वयम् नरेश पनि भावुक बने । त्यहाँ उपस्थित लाहुरे जीवन बिताएकाहरूले उनका कविताहरू आप्mनै कविता सम्झेर सुने । नरेशलाई अल्पभाषी निरु, राजन इशारा र अरुण आकाशले कविता वाचनमा सघाए । उनका कवितामाथि कलाकार तथा कार्टुनिस्ट ओम डिसिआरले गरेको पेन्टिङ पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पहिचान पुरस्कार तथा मदन पुरस्कार विजेता राजन मुकारुङले एकल भाषा र एकल साहित्यलाई अङ्गाल्दा यहाँका सीमान्तकृत, दलित, किनारीकृत समुदायलाई छायामा पारिएको र सोही कारण उनीहरूका कला, साहित्य र संस्कृति माथि उठ्न नसकेको धारणा राखे । उनले थपे, ‘नेपालभित्रका कैयौँ भाषा–साहित्यलाई ओझेलमा पारेर एकल साहित्यलाई नेपाली साहित्य भन्नुपर्ने रु यहाँका टिपिकल कुराहरू, विभिन्न समुदायका भाषा र संस्कृतिलाई साहित्यमा अटायौँ भने हाम्रो साहित्य अन्तर्राष्ट्रिय स्तरमा जान्छ तर यस्तो हिरोइजम साहित्य कहिल्यै माथि उठ्न सक्दैन ।’
कार्यक्रममा ध्यानकुमार राई, सुदन राई, सुनिता किराती, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलगायतले बोलेका थिए । प्रतिष्ठानका उपाध्यक्ष मैया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विश्वजित राईले राखेका थिए भने कार्यक्रम प्रतिष्ठानका सचिव अर्जुन राईले सञ्चालन गरेका थिए ।