बेलबारी/ मोरङको कसेनीमा रहेको पर्यटकीय स्थल धनपालथानमा साँझको समयमा रुखमा उज्यालो बल्न थालेपछि हेर्नेको भीड लाग्न थालेको छ ।

साँझ ७ बजेदेखि ४/५ वटा रुखमा पिलिकपिलिक उज्यालो बल्न थालेपछि हेर्नेको भीड लाग्न थालेको हो । ‘जुनकीरीजस्तै एकैसाथ रुखमा बल्छ’, बेलबारी– ५ का अध्यक्ष विश्वबन्धु बस्नेतले भने, ‘दैवी शक्तिको उत्पत्ति भएको भन्दै हेर्नेको भीड लाग्न थालेको छ ।’ विभिन्न क्षेत्रका व्यक्ति धनपालथानमा आउने गरेको अध्यक्ष बस्नेतको भनाइ छ ।

प्रचारप्रसार तथा संरक्षणको अभवामा रहेको धनपालथानमा अहिले दैनिक १ हजारभन्दा बढी मानिस जान थालेका छन् । ७ बजेपछि ट्याक्टरदेखि स्कारपियोमा चढेर विभिन्न किसिमका मानिसहरू सो बत्ती हेर्न आउने गरेको स्थानीय नन्दराज गिरीले बताए । गिरीका अनुसार साँझमा त्यस्तो अनौठो वस्तु हेर्न आएकालाई सम्हाल्न प्रहरीलाई समेत हम्मे पर्ने गरको छ । कहिल्यै धनपालथान नपुगेका मानिस पनि अहिले त्यहाँ पुग्ने गरेका छन् ।

‘रुखामा पिलिकपिलक बलेको वस्तु जुनकीरी नै हुन सक्छ’, वडा नम्बर ७ का वडाध्यक्ष बस्नेतले भने, ‘जे भए पनि पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।’ ३५ बिघा क्षेत्रफलमा रहेको धनपालथानको ६ बिघा जग्गा भने स्थानीयले अतिक्रमण गरेका छन् । गौचरनका रूपमा परिणत भएको पर्यटकीय क्षेत्र संरक्षणको पर्खाइमा रहेको छ । धनपालथानको संरक्षण गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । धनपालथानमा ३ वटा पोखरी रहेका छन् । अन्य ४ वटा पोखरीको अस्तित्व भने मेटिइसकेको छ ।