विराटनगरः विराटनगर–१२ बखरीटोलको मुसहर (ऋषिदेव) बस्ती चुर्लुम्म डुबेको छ । जङ्गल फाँडेर बस्ती बसेको पुस्तौं पुगेको मुसहर टोलमा न बाटो छ, न त पिउने पानी र बिजुली बत्ती नै । बस्तीका साना र झुप्रा घरको आँगन मात्र नभई घरभित्रैसम्म वर्षात्को पानी जलमग्न हुने गर्दछ ।
सर्दै र सारिँदै दुधुवा खोलाको किनारमै पुगेको मुसहर बस्तीको पानीको निकास भने छैन । वर्षात्मा परेको पानीले हरेक वर्ष डुब्ने मुसहर बस्ती भदौ अन्तिम साता पनि उत्तिकै सताइएको टोलमा परेको छ । लगातार परेको पानीले विराटनगरका सडक हिलाम्य हुँदा मुसहर बस्ती भने डुबानमै परेको छ ।
ऐलानी जमिनमा बसोबास गरिरहेका मुसहर बस्तीका घर वर्षात्मा डुब्छन् । स्थानीय ६० वर्षीय भगलु ऋषिदेवका अनुसार वर्षात्मा डुबान र पानीको पीरमा बित्ने दिनहरु गर्मीमा भने पानीको खोजीमा बित्ने गरेका छन् ।
टोलकै अग्रज मानिएका भगलुका अनुसार शुरुमा बखरी टोलको मुख्य चोकमै मुसहरहरूको बसोबास थियो । तर, पहुँचवालाको बस्ती विस्तारसँगै मुसहर बस्ती भने दुधुवा खोलाको किनारतर्फ धकेलिएको थियो ।
पुस्तौंसम्म लालपुर्जा नपाएका २ सय ६० घर परिवार रहेको बखरी टोलका मुसहरले चार पुस्ता बिताएको ठाउँ मानिन्छ बखरी टोल । निर्वाचनको समयमा आश्वासन नभई प्रतिबद्धता जाहेर गर्नेलाई भोट दिएर लालपूर्जा मागेका उनीहरू अहिले जनप्रतिनिधिको प्रतीक्षामा बसेको सुनाउँछन् ।
देश सङ्घीय संरचनामा गएपछिको पहिलो सङ्घीय तथा प्रदेश सभा सदस्य निर्वाचनताका मुसहर बस्तीमा नारा थियो, ‘आश्वासन होइन, लालपुर्जा दिने प्रतिबद्धता ।’ तर, त्यो नाराअनुसार उनीहरूको मुहारमा खुशीयाली छाउने कुनै प्रयास भने भएको छैन ।
मोरङको क्षेत्र नम्बर ६ मा पर्ने विराटनगर–१२ को मुसहर बस्तीमा ५ सयभन्दा बढी मतदाता छन् । सो क्षेत्रबाट विजयी सङ्घीय संसदका सदस्य लालबाबु पण्डित अहिले केन्द्रीय मन्त्री छन् । प्रदेशसभामा निर्वाचित केदार कार्की प्रदेश १ संसदमा नेपाली काङ्ग्रेसको प्रमुख सचेतक रहेका छन् । उप–विजेता नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालासमेत देशकै नेतृत्वदायी नेतृत्वको रूपमा चिनिएका छन् ।
तर, नेकपाका नेता तथा मन्त्री पण्डित, नेपाली काङ्ग्रेसका नेता कोइराला र सचेतक कार्की भने अहिलेसम्म मुसहर बस्ती पुग्न भ्याएका छैनन् । स्थानीय अगुवा अशोक ऋषिदेवका अनुसार आफैँ भेट गर्न खोज्दा पनि पहुँच पुगेको छैन । निर्वाचनमा सबैले एउटै आश देखाएका नेताहरू मन्त्री हुँदासम्म मुसहर बस्तीको पीडा भने नफेरिएको उनीहरू बताउँछन् ।
‘शौच गर्ने ठाउँ छैन, खाली ठाउँमा गर्न पाइँदैन,’ स्थानीय पञ्चु ऋषिदेव भन्छन्, ‘वर्षात्मा पानीको डुबान, जाडोमा ठण्डी र गर्मीमा पानीकै समस्याले हैरान परेको छ ।’ लालपुर्जा भए मजदुरी गरेर जेनतेनका साथ घर, एउटा चापाकल र घरमा बिजुलीको मिटर अनि पानीको धारा राख्ने सपना सबैले बोकेको उनी बताउँछन् ।
अधिकांश घरका पुरुष र महिलाले मजदुरी गरेर गुजारा गर्ने गरेका छन् । विद्यालय पठाउने, पढाउने र पढ्ने वातावरण घरमा नभएको उमेश ऋषिदेव बताउँछन् ।